६ जेष्ठ २०८१, आइतबार

आठौं वालिङ महोत्सव माघ १८ देखि सुरू हुने, १० करोडसम्मको कारोबार गर्ने लक्ष्य

प्रकाशित मिति :  9 January, 2024 4:55 pm


काठमाडौँ । स्याङ्जाको वालिङ् नगरपालिकामा माघ १८ गतेदेखि २८ गतेसम्म आठौं वालिङ महोत्सव हुने भएको छ । “हाम्रो गौरव, हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान” भन्ने मूल नाराका साथ वालिङ उद्योग वाणिज्य संघकाे आयोजनामा उक्त महोत्सव हुने भएको हाे ।

वालिङ खेलमैदानमा आयोजित पत्रकार सम्म्मेलनमा बोल्दै वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले महोत्सवमा २५० वटा स्टल रहने र करिब ५० प्रतिशत स्टल बुकिङ भैसकेको जानकारी दिए।

१० करोडसम्मको कारोबार गर्ने लक्ष्य राखिएको महोत्सव तीन लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ। महोत्सवबाट १ करोड २६ लाख आम्दानी गर्ने लक्ष्य राखेको संस्थाले महोत्सव संचालन गर्न करिब ८० लाख खर्च हुने आँकलन राखेको छ। करिब ५७ लाख बचत गर्ने लक्ष्य राखेको वालिङ उद्योग वाणिज्य संघले नाफाको ५ प्रतिशत वालिङ खेलमैदानको संरक्षण र विकासका लागि खर्च गर्ने जनाएको छ।

औद्योगिक व्यापार मेलाका साथसाथै महोत्सवको आकर्षणको रूपमा आधुनिक कृषि औजार प्रदर्शनी, विद्यार्थी आविष्कार प्रदर्शनी, सूचना प्रविधि तथा शैक्षिक सामाग्री प्रदर्शनी ,अदुवा तथा जडिबुटी प्रदर्शनी, स्याङ्जा डान्स आइडल सिजन ३, भजन प्रतियोगिता ,रत्यौली प्रतियोगिता, सांस्कृतिक एवं मनोरञ्जनात्मक प्रतियोगिताहरू रहने आयोजकले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !