५ जेष्ठ २०८१, शनिबार

चैतभित्र दुग्ध किसानलाई भुक्तानी दिन कृषिमन्त्री भुसालको निर्देशन

प्रकाशित मिति :  10 January, 2024 4:54 pm


काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री वेदुराम भुसालले चैतभित्र दुग्ध किसानलाई भुक्तानी दिन निर्देशन दिएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै बुधबार मन्त्री भुसालले दुग्ध बेचेको करिब १७ करोड रुपैयाँ संस्थानमा नदेखिएकाले दुग्ध विकास संस्था (डीडीसी) का महाप्रबन्धक सञ्जीव झालाई जिम्मेवारीबाट हटाएको बताए । उनले संस्थानको ऋण बढाउने तर किसानको भुक्तानीसमेत नदिएकाले जिम्मेवारबाट हटाएको प्रस्ट पारे ।

उनले चैतभित्रमा किसानहरूको दुग्धको भुक्तानी दिन निर्देशन गरेको भन्दै अहिले डीडीसीको मात्रै नभएर प्राइभेट क्षेत्रबाट पनि किसानहरुले भुक्तानी नपाएको समस्या रहेको बताए ।

उनले धान उत्पादनको धेरै महत्व रहेकाले तराईमा सिँचाई सुविधा पुर्‍याउन आवश्यक रहेको बताए । उनले तराईमा पानीको मुहान सुक्दै गएकाले चुरेको फेदबाट पूर्वपश्चिम नहर बनाउन आवश्यक रहेको बताए ।

उनले कृषि गणनाअनुसार ३० लाख ९१ हजार हेक्टर मध्येको १४ लाख ७७ हजार हेक्टर क्षेत्रमा धान खेती भएको र ६८ प्रतिशत हिस्सा तराईमा भए पनि १७ प्रतिशत मात्रै बालिमा सिंचाई हुने गरेको बताए ।

मन्त्री भुसालले तराईमा खाद्यन्न उत्पादन वृद्धिको लागिचुरे फेदीबाट पूर्वपश्चिम नहर बनाएर नदि प्रणाली जोड्नुको विकल्प नभएको बताए । उनले नदी प्रणाली जोड्न नसके तराई मधेस मरुभूमि हुने दाबी गरे ।



प्रतिक्रिया दिनुहोस !