५ जेष्ठ २०८१, शनिबार

आगामी अधिवेशनमा सहमतिबाटै टीआरसी विधेयक पारित हुन्छ: कानुनमन्त्री गुरुङ

प्रकाशित मिति :  11 January, 2024 4:09 pm


काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आगामी अधिवेशनमा सङ्क्रमणकालीन न्यायासँग सम्बन्धित विधेयक सहमतिबाटै संसदमा प्रस्तुत हुने बताएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै उनले सङ्क्रमणकालीन न्याय टुङ्ग्याउने सन्दर्भमा अब छिटै नै सहमतिमा पुग्ने आशा बढेको बताए ।

उनले अब विदेशीसँग सङ्क्रमणकालीन न्याय टुङ्गो लगाउने कुरामा लाज मानिरहनुपर्ने र ढाँटिरहनुपर्ने आवश्यकता नहुने बताए । गुरुङले यसमा सहमति जुटाउन समितिका सदस्यहरू र शीर्ष नेताहरूसँग छलफल गरी टुङ्गो लगाउनुपर्ने आवश्यकता रहेको बताए । उनले आगामी अधिवेशनले टिआरसीसँग सम्बन्धित विधेयक सहमतिबाट पेस गरी पारित गर्ने दाबी गरे ।

उनले भने, ‘सङ्क्रमणकालीन न्याय टुङ्ग्याउने सन्दर्भमा माननीयहरूको कुरा सुनिरहँदा मलाई के लाग्यो भने अब भर्खरै बोल्ने मान्यज्युले लाज लाग्न थाल्यो भन्नुभएको छ, अब लाज लाग्दैन की जस्तो लागेको छ । अब ढाँट्नु नपर्ने दिन पनि नजिकै आएको जस्ते लागेको छ । यसमा हामीले बुँदा बुँदा र शब्द शब्द केलाएका छौँ । अझै सहमति खोज्नुपर्छ । सहमति खोज्ने नै हो । अब म सहमति हुन्छ भन्नेमा पुगेको छ । आउने अधिवेशनमा ट्रान्जिसनल जस्टिसको बिल सहमति भएर पेस भइ पारित हुन्छ । सहमतिका लागि आठदेखि १० दिनसम्म अनौपचारिक रुपमा साथीहरूसँग रहन्छौँ । शीर्ष नेतासँग पनि रहन्छौँ ।’

मन्त्री गुरुङले नेकपा एमालेका सचेतक महेश बर्तौलाप्रति लक्षित गर्दै एमालेले साथ दिएपछि सहमतिबाटै पेस हुने टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस !