२४ बैशाख २०८१, सोमबार

रुस–युक्रेन युद्धमा ज्यान गुमाउने प्युठानका सुनार परिवारसँग सांसद थापाको भेट

परिवारको गुनासो,‘औपचारिक जानकारी आएन’
प्रकाशित मिति :  14 January, 2024 10:57 am


प्युठान । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले रुसी सेनामा भर्ना भएर ज्यान गुमाएका प्युठानका सोमे सुनारको परिवारसँग भेट गरेका छन् ।

प्युठान नगरपालिका–४ काठेबर निवासी सुनारको परिवारसँग थापाले शनिवार बेलुकी भेट गरेका हुन् । सुनारको घरमा पुगेर थापाले परिवारलाई समवेदना व्यक्त गरेका छन् ।

रुस-युक्रेन युद्धमा ज्यान गुमाएका सुनारका बुबा,श्रीमती, छोरा लगायतका परिवारसँग सांसद थापाले छलफल गरेका हुन् ।

रुसी सेनामा भर्ना भएका सुनारले केही दिन अघि रुस युक्रेन युद्धमा ज्यान गुमाएको खबर सार्वजनिक भएको थियो ।

सांसद थापासँगको भेटमा सुनार परिवारले मृत्युबारे अझै आधिकारिक जानकारी नपाएको बताएका छन् । युद्धकै क्रममा घाइते साथीले सुनारको मृत्युबारे खबर गरे पनि औपचारिक रुपमा कुनै जानकारी नआएको परिवारले बताएको सांसद थापाले जानकारी दिए ।

उनले भने,“मृत्यबारे घाइते साथीले जानकारी गराएपछि थाहा भएको रहेछ । उनको (सोमे सुनार) मृत्यबारे कतैबाट पनि औपचारिक जानकारी नआएको रहेछ ।”

थापाले अहिलेसम्म रुसी सेनामा भर्ना भएका प्युठानका एक जना घाइते भएको र एक जनाकाे रुस–युक्रेन युद्धमा मृत्यु भएको बताए ।

उनले सुनारको परिवारसँग परराष्ट्र मन्त्रालय, नेपालस्थित रुसी राजदूतावास तथा अन्य निकायमा आफूले कुरा राख्ने आश्वासन दिएका छन् । भेटमा नेकपा एमाले प्युठानका अध्यक्ष विजयविराज विष्ट पनि थिए ।

सांसद थापाले भने,“रुसी सेनामा भर्ना भएर मृत्यु भएका नेपालीप्रति रुसको दायित्व के हो ? परराष्ट्र मन्त्रालयले के पहल गरिरहेको छ ? म थप पहल गर्छु भनेको छु । ”

नेपालकाे परराष्ट्र मन्त्रालयले अहिलेसम्म रुसी सेनामा भर्ना भएर युक्रेनसँगको युद्धमा १० जना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ । सुनारबारे भने अहिलेसम्म औपचारिक जानकारी सरकारले सार्वजनिक गर्न सकेको छैन ।



प्रतिक्रिया दिनुहोस !