२४ बैशाख २०८१, सोमबार

राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन शीर्ष नेताहरूले अपिल

प्रकाशित मिति :  14 January, 2024 1:01 pm


काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवारहरूलाई जिताउन शीर्ष नेताहरूले अपिल गरेका छन् । सत्ता गठबन्धनमा आबद्ध सात राजनीतिक दलका शीर्ष नेताहरूले आफ्ना उम्मेदवारका लागि भोट मागेका हुन् ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गठबन्धनका उम्मेदवार सबैका साझा उम्मेदवार भएकाले सबैले मतदान गरेर जिताउनका लागि शिर्ष नेताहरूले आह्वान गरेको बताए । उनले प्रदेशहरूमा र जिल्लाहरूमा समन्वय समितिहरू गठन भएको बारेमा नेताहरूलाई ब्रिफिङ गरिएको पनि जानकारी दिए ।

राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका १९ जनाको नामावली सार्वजनिक गर्दै शीर्ष नेताले गठबन्धनका पक्षमा दृढतापूर्वक उभिन आवश्यक रहेको औँल्याएका छन् ।

विज्ञप्तिमा भनिएको छ, “राष्ट्रिय सभा निर्वाचनको क्रममा हाम्रो गठबन्धनलाई कमजोर गर्ने विभिन्न गतिविधि हुन सक्दछन् । यो निर्वाचन गठबन्धनलाई अझ संगठित र बलियो बनाउँदै देशमा राजनीतिक स्थायित्व थप सुनिश्चित गर्ने अवसर पनि हो । तसर्थ, गठबन्धनका पक्षमा दृढतापूर्वक उभिन आवश्यक छ । हामी सम्पूर्ण मतदातालाई राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलार्य मतदान गरी अत्यधिक मतले विजय गराउन हार्दिक अपिल गर्दछौँ ।’

प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र महतो, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी, लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले हस्ताक्षरसहित विज्ञप्ति जारी गरी गठबन्धनका उम्मेदवारलाई भोट मागेका हुन् ।



प्रतिक्रिया दिनुहोस !