४ जेष्ठ २०८१, शुक्रबार

म जति सफल हुनुपर्ने हो, अझै भएको छैनः प्रधानमन्त्री

प्रकाशित मिति :  15 January, 2024 6:25 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू सोचेजस्तो सफल हुन नसकेको स्वीकार गरेका छन् ।

नेपाल मगर संघले सोमबार माघी पर्वको अवसर पारेर काठमाडौँको टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफू सोचेजस्तो सफल हुन अझै नसकेको बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले पूर्वी नेपाललाई किराँत प्रदेश बनाउने आफ्नो लक्ष्य पनि निर्वाचनमा पार्टीको हैसियत कमजोर हुँदा पूरा हुन नसकेको बताए । उनले नेपालका प्रथम सहिद लखन थापालाई राष्ट्रिय विभूति बनाउने मागप्रति आफू सहमत रहेको उल्लेख गर्दै त्यसमा पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

देशभक्तिको पक्षमा, जनताको परिवर्तनको पक्षमा, निरंकुशताका विरुद्ध लोकतन्त्रको पक्षमा बलिदान गर्ने सम्पूर्ण सहिदहरुप्रति उच्च सम्मान हुनुका साथै नेपालको क्रान्तिकारी आन्दोलन र राजनीतिक योद्धाहरुको पनि सम्मान हुने भएकाले पनि नेपालका प्रथम सहिद लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्ने कुरामा आफूले पहल गरिरहेको प्रधानमन्त्री प्रचण्डको भनाई थियो ।

प्रधानमन्त्री प्रचण्डले संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको कामलाई सरकारले राष्ट्रिय कार्यभारको रुपमा अघि बढाएको पनि बताए ।



प्रतिक्रिया दिनुहोस !