२१ बैशाख २०८१, शुक्रबार

नेपाल डेरी एसाेसिएसनले माघ ७ गते ‘रजत जयन्ती’ मनाउने

प्रकाशित मिति :  16 January, 2024 3:01 pm


काठमाडौँ । नेपाल डेरी एसाेसिएसनले माघ ७ गते रजत जयन्ती एंव वार्षिक साधारणसभा मनाउने भएको छ । आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै २०५५ सालमा स्थापना भएको एसाेसिएसनले २४ औं स्थापना दिवस मनाउने जनाएको छ ।

नेपाल डेरी एसाेसिएसनका अध्यक्ष प्रह्लाद दाहालले एसाेसिएसन स्थापना हुनुकाे मुख्य उद्देश्य भनेकाे दुग्ध प्रशोधन व्यवसायीहरूको सामूहिक व्यवसायीक हक हित सुरक्षा र उन्नतिका लागि काम गरेको र अगामी दिनमा समेत उद्योगीहरूको सुझाव लिएर काम गर्ने बताएका छन् ।

उनले भने, “स्वच्छ तरिकाबाट दुध तथा दुग्ध पदार्थ प्रशोधन, उत्पादन बजार व्यवस्थापन र व्यापारिकरण गर्ने व्यवसायीहरूको ज्ञान अभिवृद्धि गर्ने देखि वातावरण संरक्षाणका लागि एसाेसिएसनले काम गर्दै आएको छ र आउँदो दिनमा समेत त्यसलाई निरन्तरता दिने छ ।”

अध्यक्ष दाहालले दुग्ध क्षेत्रमा देखिएका समस्याका विषयमा समय समयमा बैठक बसेर छलफल चलाउनुका साथै समाधानका लागि समेत विशेष पहल गर्दै आएको बताए । वर्तमान समयमा दुधको खपत कम भएर बाहिरबाट आयात हुँदा देशमा दुध तथा दुग्ध पदार्थ व्यवस्थापन गर्न कठिन भएको दाहालकाे भनाइ छ । “अहिले सरदर ५ अर्ब बराबरको धुलो दुध र बटर स्टक भएको अनुमान छ । यसकाे समाधानकाे लागि उपभोग बढाउने कार्यक्रमहरू ल्याउन सक्दा पनि राम्रै हुन्छ । जसले स्कुलमा विद्यार्थी, आर्मी, पुलिस, खेलाडीलाई दुधको महत्व बुझाई सेवन गर्न प्रेरित गर्न सक्दा उपभोग बढ्न सक्छ,” उनले भने ।

नेपाल डेरी उद्योग एसोसिएसन पूर्व अध्यक्ष सुमित केडियाले दुधबाट बनेका सामान राख्न स्टोरको अभावले कठिन भएको बताएका छन् । उनले राज्यले बटरका लागि सामूहिक कोल्ड स्टोर संचालनमा ल्याने वा सम्बन्धी एसाेसिएसनलाई उपल्बध गराउन सक्दा केही सहज हुने बताए । “अहिले उद्योगले प्रति केजी १० रूपैयाँ कोल्ड स्टोरमा भाडा तिरेर बटर राख्न परेको छ,” उनले भने, “यसले गर्दा एकातिर बिक्री नहुने अनि अर्को तिर भाडा तिर्दा दोहोर मारमा किसानहरू परेका छन् त्यसैले सरकारले यस विषयमा ध्यान दिन आवश्यक छ ।”

केडियाले नेपालमा दुध तथा दुग्ध पदार्थकाे प्याकेजिङ्गमा लाग्ने कच्चा पदार्थहरू धेरै जसो छिमेकी मुलुकबाट आयात गर्नुपर्ने बाध्यता रहेको बताए । उनले सो कच्चा पदार्थहरूमा भन्सार दर १ प्रतिशतसम्म हुने व्यवस्था गर्दा उत्पादन लागत कम भएर बजारमा प्रतिस्पर्धा गर्न समेत सहज हुने बताए ।

एसोसिएसनले रजत जयन्ती कार्यक्रमकाे पूर्व सन्ध्यामा ५ दिनसम्म देशभर विभिन्न कार्यक्रम समेत गर्ने जनाएकाे छ ।

नेपालमा पशुपालन व्यवसाय र डेरी व्यवसायलाई राज्यले सहयोग गर्न सक्दा आर्थिक गतिविधि, रोजगार, कृषि जन्य पदार्थ आयातमा समेत कमि हुने र आजकाे दिनमा शहरबाट करिब ५ करोड रुपैँया दैनिक गाउँसम्म जाने गरेको एसोसिएसनले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !