२१ बैशाख २०८१, शुक्रबार

बिमा प्राधिकरण र त्रिवि केन्द्रीय अर्थशास्त्र विभागबिच समझदारी

प्रकाशित मिति :  17 January, 2024 2:08 pm


काठमाडौँ । नेपाल बिमा प्राधिकरण र त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागबिच बिमा सम्बन्धी अनुसन्धान गर्ने सम्बन्धी समझदारी भएको छ ।

बिमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल र त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागका प्रमुख प्रा डा. शिव राज अधिकारीले एक समारोहकाबिच समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

समझदारी पत्रमा नेपाल बिमा प्राधिकरणले बिमाको अनुसन्धान क्षेत्र पहिचान गर्ने, प्राधिकरण र केन्द्रीय अर्थशास्त्र विभागले आपसी साझेदारीमा अनुसन्धानको कार्य अगाडि बढाउने र अनुसन्धानका लागि आवश्यक वित्तीय सहयोग प्राधिकरणले उपलब्ध गराउने उल्लेख छ ।

देशको अर्थतन्त्रमा बिमा क्षेत्रको योगदान, बिमा क्षेत्रको विकास, बिमा समावेशिता, बिमा व्यवसाय, सेवाको गुणस्तर, संचालन खर्च, वित्तीय प्रणाली, वित्तीय साक्षरता, बिमा क्षेत्रका चुनौती, बिमा कम्पनीको नियमन तथा सुपरिवेक्षण, पुनर्बीमा र जोखिम बहन नीति लगायतका क्षेत्रमा अनुसन्धान गरिने समझदारीपत्रमा उल्लेख गरिएको छ ।

त्यस अवसरमा नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले समझदारीबाट देशको बिमा क्षेत्रको गहिरो अध्ययन गर्न तथा प्राधिकरणको अनुसन्धान टोलीलाई सबल बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष सिलवालले बीमा सम्बन्धी अनुसन्धानका लागि आगामी आर्थिक वर्षमा थप रकमको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त समेत गरे ।

त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागका प्रमुख प्रा.डा. शिव राज अधिकारीले समझदारी अनुरूप बिमा सम्बन्धी अनुसन्धान कार्य तत्कालै अगाडि बढाउने बताए । समझदारी पत्रमा हस्ताक्षर भएको मितिले चार वर्षसम्म समझदारी कायम रहने छ ।



प्रतिक्रिया दिनुहोस !