७ जेष्ठ २०८१, सोमबार

राष्ट्रिय सभा निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था गर्न सरकारलाई निर्देशन

प्रकाशित मिति :  17 January, 2024 2:40 pm


काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा आवश्यक सुरक्षा व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

आयोगको आज बसेको बैठकले माघ ११ गते हुने चुनावका लागि सुरक्षा व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो ।

आयोगले तयार गरेको मतपत्र ढुवानी कार्ययोजना बमोजिम गृह मन्त्रालयको समन्वयमा सुरक्षा निकायबाट आवश्यक सुरक्षा प्रबन्ध मिलाउन भनेको छ ।

आज बसेको आयोगको बैठकले प्रदेश राजधानी रहेका जिल्लाहरू मोरङ, धनुषा, मकवानपुर, कास्की, दाङ, सुर्खेत र कैलालीमा रहेका प्रदेश निर्वाचन कार्यालयहरूमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचनको कार्यमा खटिएका सम्पूर्ण जनशक्तिको सुरक्षा व्यवस्था मिलाउन भनेको हो ।

राष्ट्रिय सभा सदस्य निर्वाचनको सन्दर्भमा आवश्यक सुरक्षाको समुचित व्यवस्था मिलाउन समेत आयोगले भनेको छ ।

आयोगले निर्वाचक मण्डलका सदस्यहरू प्रदेशभर छरिएर रहेकाले आफु रहेका स्थानीय तह वा जिल्लाबाट मतदान स्थल तोकिएको प्रदेश राजधानीसम्म आउनको लागि तथा प्रदेश राजधानीमा मण्डलका सदस्यहरू बसेको स्थानबाट मतदान केन्द्रसम्म मतदान का लागि आउने र जाने मार्ग तथा आवासीय क्षेत्रमा आवश्यक सुरक्षा प्रवन्ध मिलाउन निर्देशन समेत दिएको छ ।

आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीका अनुसार उम्मेदवार र मतदाताहरू निर्वाचन कार्यक्रममा सहभागी हुँदा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर मात्र आवागमन गर्ने व्यवस्था मिलाउन भनिएको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि तोकिएका मतदान स्थल तथा मतदान केन्द्र र मतगणना स्थलको सुरक्षा प्रवन्ध मिलाउन सरकारलाई आयोगले निर्देशन दिएको छ ।



प्रतिक्रिया दिनुहोस !