५ जेष्ठ २०८१, शनिबार

दैलेखमा माघ २६ देखि फागुन ६ गतेसम्म ‘दैलेख महोत्सव’ हुने

प्रकाशित मिति :  17 January, 2024 5:37 pm


काठमाडौँ । स्थानिय प्राकृतिक स्रोत सम्पदाको प्रवद्र्धनमार्फत आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यले माघको तेस्रो साताबाट दैलेखमा महोत्सव आयोजना हुने भएको छ । महोत्सव माघ २६ देखि फागुन ६ गतेसम्म आयोजना हुनेछ ।

नेपाल उद्योग वाणिज्य महासंघको समन्वयमा दैलेख उद्योग वाणिज्य संघकातर्फबाट आज (बुधबार) महासंघ सचिवालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो ।

महोत्सवलाई कर्णाली प्रदेशको औद्योगिक, कृषि एवं व्यापार मेलाको रूपमा आयोजना गरिने आयाेजकले जनाएकाे छ । आयाेजकका अनुसार दैलेख जिल्लाको उद्योग, व्यापार, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र सांस्कृतिक क्षेत्रको प्रवद्र्धनमा महोत्सवलाई केन्द्रमा राखेर काम गरिने छ । महोत्सव मार्फत स्थानीय आन्तरिक बजार सवलीकरणका लागि व्यावसायिक उत्थान तथा निकासी योग्य वस्तुमा जोड दिइने छ ।

धार्मिक पर्यटकीय स्थलहरूको प्रचार प्रसारको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटन आकर्षण गर्ने, जिल्लाको कला संस्कृति तथा स्थानीय लोक संस्कृतिको संरक्षण तथा उजागर गर्ने, हस्तकला व्यवसायको प्रवद्र्धन गरी लगानीका अवसरहरू जुटाउने, कृषि उपज वस्तुहरूको बजार प्रवद्र्धन गर्ने मेलाको मुख्य उद्देश्य रहेको छ ।

त्यसैगरी निकासी योग्य वस्तुको पहिचान एवं बजार प्रवद्र्धनमा सहयोग पु्र्याउने, स्थानीय वस्तु तथा सेवाको बजार प्रवद्र्धन गर्न स्थानीय उद्यमी व्यवसायीलाई प्रोत्साहन गर्ने, कृषिजन्य उत्पादनको बजार प्रवद्र्धन गर्न महोत्सव केन्द्रीत रहने आयाेजकले जनाएकाे छ।

महासंघका उपाध्यक्ष सुरकृष्ण बैद्यले मेला महोत्सवबाट स्थानीय उत्पादनको बजार प्रवद्र्धन सहित समग्रमा स्थानीय जनताको आर्थिक उत्थानमा सहयोग पुुग्ने दावी गरे । उनले मेला महोत्सवको आयोजनालाई महासंघले विशेष प्राथमिकता दिएको पनि स्पष्ट पारे । स्थानीय उद्योग वाणिज्य संघहरूमार्फत मात्र मेला महोत्सव आयोजना गर्ने नीति राज्यको हुनुपर्नेमा पनि उनको जोड थियो ।



प्रतिक्रिया दिनुहोस !