२५ बैशाख २०८१, मंगलबार

सरकार अब उत्तर–दक्षिण राजमार्गको काममा केन्द्रित हुन्छः मन्त्री ज्वाला

प्रकाशित मिति :  18 January, 2024 3:40 pm


काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सरकार अब उत्तर–दक्षिण राजमार्गको काममा केन्द्रित हुने बताएका छन् ।

बिहीबार सिंहदरबारस्थित सङ्घीय संसद राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बाेल्दै उनले पूर्व–पश्चिम राजमार्गको काम पर्याप्त भइसकेको दाबी गर्दै अब सरकारको काम उत्तर–दक्षिण राजमार्गमा केन्द्रित हुने बताएका हुन् ।

‘‘पूर्व–पश्चिम सडक चाहिँ अलि पर्याप्त भइसके भन्ने लाग्छ । कम्पिलिट गर्नुपर्ने त छ नै । पूर्व–पश्चिम राजमार्ग छँदैछ । त्यसलाई हामीले स्तरोन्नतिको काम गरिरहेका छौं । कुनै सेक्टरमा वर्ल्ड बैंकले सहयोग गरेको छ । कुनैमा एडिबीले सहयोग गरेको छ । यसलाई पनि हामीले चार लेन र ६ लेनमा स्तरोन्नति गर्ने । अब भित्री मधेशलाई लक्षित गरेर बनाइएको सडक हो मदन भण्डारी राजमार्ग । त्यो पनि पूर्व–पश्चिम नै थ्रु आउट हुने हो । त्योभन्दा माथि पुष्पलाल मध्यपहाडी लोकमार्ग पनि छँदैछ ।,’’ मन्त्री ज्वालाले भने, ‘‘त्यो पूर्वपश्चिम खुलिसक्यो । त्यसको बाँकि ठाउँमा स्तरोन्नति गर्नुछ । अनि चार वटा ठूल्ठूला सडकहरु बनिसकेका छन । तयारी भएका छन् भने पछि पूर्व–पश्चिम यातायातको सन्दर्भमा धेरै ठूलो समस्या अब हुन्छ जस्तो लाग्दैन ।’’

मन्त्री ज्वालाले सो राजमार्ग व्यापारिक र त्रिदेशीय सम्बन्ध पनि जोड्ने भएकाले यसलाई उच्च प्राथमिकता दिएर सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउने प्रतिबद्धता समेत व्यक्त गरे । उनले पूर्व–पश्चिम विद्युतीय रेलमार्ग जनतालाई सास्ती पनि नहुने र विकास निर्माणको काम पनि अघि बढ्ने हिसाबले अघि बढाउने आवश्वासन दिए ।



प्रतिक्रिया दिनुहोस !