२४ बैशाख २०८१, सोमबार

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतपत्र सातै प्रदेशमा पुग्याे,लुम्बिनी प्रदेशमा ७४० मतपत्र

प्रकाशित मिति :  19 January, 2024 1:31 pm


काठमाडाैँ । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतपत्र छापेर सातै प्रदेशमा पुर्‍याएको छ ।

आयोगले मतपत्र छापेर आज सातै प्रदेशका निर्वाचन अधिकृतहरूको कार्यालयमा पुराइएको जनाएको छ । राष्ट्रिय सभाको रिक्त हुने १९ सदस्यका लागि माघ ११ गते निर्वाचन हुँदैछ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलद्वारा मतदान हुने कानूनी व्यवस्था छ ।

प्रदेश सभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र हुने छ । यस्तै गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र हुने छ ।

प्रदेशगत रुपमा रहेका निर्वाचक मण्डलका सदस्यको संख्या तथा निर्वाचन हुने पद संख्यालाई आधार मानी आयोगले तोकेको संख्यागत मापदण्डका आधारमा कोशी प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ९२० मतपत्र रहेको आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मधेश प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ९४० मतपत्र, बागमती प्रदेशमा निर्वाचन हुने चार पदका लागि आठ प्रकारका १७६० मतपत्र र गण्डकी प्रदेशमा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका ९०० मतपत्रहरु रहेका छन् ।

लुम्बिनी प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ७४० मतपत्र, कर्णाली प्रदेशमा निर्वाचन हुने तीन पदका लागि छ प्रकारका ७५० मतपत्र र सुदूरपश्चिम प्रदेशमा निर्वाचन हुने तीन पदका लागि छ प्रकारका ९०० मतपत्र रहेको आयोगले जनाएको छ ।

फागुन २० गतेदेखि रिक्त हुने १९ राष्ट्रिय सभा सदस्य पदको लागि आगामी माघ ११ गते सम्वन्धित प्रदेशका तोकिएका मतदान स्थल तथा मतदान केन्द्रहरुमा विहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म हुने मतदान हुने छ ।

आयोगले ३८ प्रकारका कूल ६९१० मतपत्रहरु छपाई गरी पठाइएको आयोगले जनाएको छ ।

यस निर्वाचनबाट निर्वाचित हुने राष्ट्रिय सभा सदस्यहरुको पदावधि २०८० फाल्गुन २१ गते देखि ६ वर्षसम्म रहनेछ ।



प्रतिक्रिया दिनुहोस !