४ जेष्ठ २०८१, शुक्रबार

‘१२ वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन, खपत र व्यापार सम्भव छ’

प्रकाशित मिति :  19 January, 2024 4:29 pm


काठमाडौँ। सरकारले अघि सारेको १२ वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पदान, खपत र व्यापारको लक्ष्य सम्भव हुने सरोकारवालाले बताएका छन् ।

हिजाे (बिहीवार) स्वतन्त्र ऊर्जा उत्पदाकहरूको संस्था, इप्पानको २४ औं वार्षिकोत्सवको अवसरमा आयोजित अन्तरक्रियामा सरोकारवालाले उक्त लक्ष्य सम्भव भएको बताएका हुन् ।

‘भविष्यमा ऊर्जा विकासको रणनीति’ विषयक अन्तक्रियामा सहभागी प्यानालिस्टहरूले ऊर्जामा लगानी बढाउन अपरिहार्य रहेको भन्दै ऊर्जा नै समृद्धिको आधार नै ऊर्जा भएको बताएका हुन् ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयलका सहसचिव सन्दिपकुमार देवले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादनको योजना अघि बढेको भन्दै यो सम्भव रहेको बताए । नेपालमा २० मेगावाट बिजुली उत्पादन भएको अवस्थाबाट हाल ५०० मेगावट निर्यात गर्नेसम्मको अवस्थामा आइपुगेको स्मरण गर्दै उनले आगामी दिनमा पनि ऊर्जा उत्पादनको सम्भावना एकदमै राम्रो रहेको उल्लेख गरे।

‘त्यो बेलामा २० मेगावाट विद्युत् उत्पादन गर्दा पनि खुसी लाग्थ्यो,’ उनले भने, ‘अहिले ५०० मेगावाट निर्यात गरिसकेका छौँ। इन्भेष्टमेन्टको कुरा ठूलो लागे पनि डेभलपमेन्ट पार्टनरहरू र हाम्रै बैंकिङ सेक्टरबाट लगानी जुटाएर २८ हजार ५०० मेगावाटको लक्ष्य एकदमै सम्भव छ।’

त्यस्तै नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर बमहादुर मिश्रले जलविद्युत् आयोजना निर्माणमा लगानी गर्न नेपालका बैंक तथा वित्तीय संस्था सक्षम रहेको उल्लेख गरे। २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन ठूलो सुनिए पनि साना साना योजनामा लगानी गरेर ठूलो मात्रामा विद्युत् उत्पादनको सम्भावना रहेको मिश्रको भनाइ थियो।

‘अहिले ३६०५ मेगावाट विद्युत् उत्पादनका लागि पीपीए भइसकेको अवस्था छ,’ उनले भने, ‘त्यहीबाट सुरु गरौँ। हाम्रा बैंक तथा वित्तीय संस्थाहरू लगानी गर्न सक्षम छन्।’ बोन्डको माध्यमबाट भए पनि जलविद्युत् आयोजनामा लगानी गर्न नेपाली बैंक तथा वित्तीय संस्था सक्षम रहेका भन्दै उद्योग विभागमार्फत आउने विदेशी लगानीमार्फत पनि जलविद्युत आयोजना निर्माण गर्न सकिने उनको भनाइ थियो।

त्यस्तै पछिल्लो समय हाइड्रो पावरमा जलवायु परिवर्तनको असर समेत देखिएको भन्दै उनले जलवायु परिवर्तनलाई ध्यानमा राखेर जलविद्युत् निर्माणलाई अघि बढाउनुपर्ने बताए । ‘नेपालको हाइड्रो पावरमा जलवायु परिवर्तनका मुद्दाहरू पनि आएक छन्,’ उनले भने, ‘यसमा नेपालले मात्रैभन्दा पनि साउथ एसियन मुलुकहरू मिलेर कंक्रिट एक्सन प्लान बनाएर जानुपर्ने छ ।’

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १० हजार मेगावाट विद्युत् निर्यातसहित आन्तरिक खपत बढाउन सकेमा मुलुकले आर्थिक रूपमा कोल्टे फेर्ने बताए। विद्युत् निर्यात बजारको रिस्क प्राधिकरणले लिएको भन्दै उनले यसको चिन्ता लिएर बस्नुपर्ने आवस्था नरहेको बताए । प्रसारण लाइनको समस्या जग्गा तथा रुखका कारण रहे पनि त्यतिधेरै समस्या प्रसारण लाइन निर्माणमा पनि नरहेको उनको भनाई थियो।

प्रसारण लाइन निर्माणमा प्राधिकरणबाट कुनै समस्या नरहेको कार्यकारी निर्देशक घिसिङको भनाई थियो। प्रसारण लाइन निर्माणमा देखिएका समस्या समाधानका लागि प्राधिकरणले सक्दो प्रयास गरेको पनि घिसिङले बताए।

त्यस्तै विद्युत् नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले आयोगको काम नियमनको भए पनि सहजीकरणमा निकै भूमिका खेलिरहेको बताए। आयोगले पहल गर्दा नै विभिन्न आयोजनाहरूले प्राण पाएको सिंहको भनाई थियो। जलविद्युत् आयोजना निर्माण तथा विद्युत् उत्पादनका लागि उत्पादक र प्राधिकरणले नै समझदारी देखाउनुपर्ने उनले बताए ।



प्रतिक्रिया दिनुहोस !