२० बैशाख २०८१, बिहिबार

राष्ट्रिय गौरवका आयोजनाको छनौटमा पुनर्विचार गर्नुपर्छ: ऊर्जामन्त्री बस्नेत

प्रकाशित मिति :  19 January, 2024 4:31 pm


काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय गौरवको आयोजनाहरूको छनौटका लागि निश्चित मापदण्ड बनाउनुपर्ने बताएका छन् ।

राष्ट्रिय गौरवको आयोजनाहरु अघि बढ्न नसकिरहेका बेला ऊर्जामन्त्री बस्नेतले निश्चित मापदण्ड तय गरेर मात्रै त्यस्ता आयोजनाहरुको छनौट गर्न उपयुक्त हुने धारणा राखेका हुन् । शुक्रबार संघीय संसद् राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले राष्ट्रिय गौरवका आयोजनाहरुको समग्र पक्षमा नै पुनर्विचार गर्नुपर्ने बेला आएको पनि बताए ।

मन्त्री बस्नेतले सरकारको राष्ट्रिय गौरवका आयोजना प्रमुखहरूलाई सरुवा गर्ने कुनै मनसाय नरहेको बताए । विशेष परिस्थितिबाहेक राष्ट्रिय गौरव आयोजना प्रमुखलाई सरुवा गर्ने मन्त्रालयको स्पिरिट नभएको मन्त्री बस्नेतको स्पष्टीकरण थियो । उनले राष्ट्रिय गौरवका आयोजनाका प्रमुखहरूले सरुवा माग्दा पनि आफूले त्यही बसेर काम गर्न अनुरोध गर्ने गरेको समेत बताए ।

बैठकमा बोल्दै समितिका सदस्यहरुले राष्ट्रिय गौरवका आयोजनाहरूको कामलाई महत्त्व नदिएको भन्दै सरकारको आलोचना गरेका थिए । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) कि सांसद इन्दु कडरीयाले राष्ट्रिय गौरवको भनेर घोषणा गरिएका आयोजनाहरुको काम अलपत्र पार्ने काम नगर्न सरकारलाई सचेत गराइन् ।

सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की आछामीले राष्ट्रिय गौरवको आयोजनाहरूलाई समयमै सम्पन्न हुने गरी स्रोत, साधन र जनशक्ति परिचालनमा ध्यान दिन सरकारको गम्भीर ध्यानाकर्षण गराए । उनले देशलाई समृद्धि बनाउने भन्दा पनि कमजोर पार्ने गरी राष्ट्रिय गौरवको आयोजनाहरु अघि बढाइएको जिकिर गर्दै सरकारप्रति आक्रोश समेत व्यक्त गरे ।

सांसद आछामीले राष्ट्रिय गौरवको आयोजनाहरूमा बजेटको अभाव हुन नदिन पनि सरकारलाई सुझाव दिए ।



प्रतिक्रिया दिनुहोस !