६ जेष्ठ २०८१, आइतबार

संक्रमणकालीन न्याय सहमतिबाटै टुंग्याउँछौँ: प्रधानमन्त्री

प्रकाशित मिति :  21 January, 2024 11:27 am


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सबै राजनीतिक दलहरूको सहमतिबाटै टुंग्याउने बताएका छन् ।

आज बिहान तीन दिने युगान्डा भ्रमण सकेर फर्किएका प्रधानमन्त्री दाहालले विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

उनले शान्ति प्रक्रियाका बाँकी कामबारे सबै छलफल र तयारी गरिसकेको र राजनीतिक दलका नेताहरूसँग आफूले वार्ता गरिसकेको भन्दै हिउँदे अधिवेशनको पहिलो दिन नै प्राथमिकताका साथ सदनमा पेस गर्ने बताए । उनले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने प्रक्रियाले अब गति लिने दाबी गरे ।

उनले भने, ‘टीआरसीबारे सबै छलफल र तयारी गरेका छौँ । संसदको उपसमितिबाट टुंग्याएर त्यो समितिमा गएको छ । अब फुल हाउसमा लैजाने तयारी छ । सदन खुल्नेबित्तिकै टीआरसी विधेयकलाई प्राथमिकताका साथ राखिन्छ र टुंग्याइन्छ ।ु

‘सहमतिबाट टुंग्याउन मेरो पूरै कोसिस छ । राजनीतिक दलका नेताहरूसँग मैले लगातार वार्ता गरेको छु । मलाई विश्वास छ, अन्तिममा सहमतिबाट नै टीआरसी विधेयक टुंगिन्छ । शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने प्रक्रियाले गति लिन्छ’, प्रधानमन्त्री प्रचण्डले भने ।

उनले एक वर्षे उपलब्धि सार्वजनिक गर्दाको सम्बोधनअनुसार नै काम अघि बढाइरहेको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस !