६ जेष्ठ २०८१, आइतबार

विभिन्र कार्यक्रम गर्दै नेपाल डेरी एसाेसिएसनले मनायाे रजत जयन्ती

प्रकाशित मिति :  21 January, 2024 6:04 pm


काठमाडौँ । नेपाल डेरी एसोसिएसनले आज (आइतबार) रजत जयन्ती एंव वार्षिक साधारणसभा मनाएकाे छ । काठमाडौँमा एक कार्यक्रम गरि २०५५ सालमा स्थापना भएको एसोसिएसनले २४ औं स्थापना दिवस मनाएकाे हाे । रजत जयन्ती एंव वार्षिक साधारण सभाको सम्बोधन गर्दै  कृषि तथा पशुपन्छी सचिव रेवती रमण पौडेलले पछिल्लो समय आर्थिक मन्दीका कारण डेरी क्षेत्रमा समस्या आउँदा समग्र किसानलाई पनि समस्या परेको बताएका छन् ।

उनले भने, “डेरी क्षेत्रमा पछिल्लो समय समस्या बढ्दै गएको छ । किसानले उत्पादन गरेको दुधले बजार पाउन सकेका छैनन् भने खपत पनि कम हुँदै गएको छ त्यसको लागि सरकारले पनि किसान र डेरी उद्योगहरूलाई सहज वातावरण बनाउनको लागि पहल गर्न आवश्यक छ ।”

पौडेलले दुर्गम ठाउँका किसानले उत्पादन गरेको दुधको शहरसम्म ढुवानी गर्न समेत समस्या हुदैँ आएको बताए । गाउँका किसानहरूले उत्पादन गरेकाे दुध बजारसम्म ल्याउनको लागि सडकको अवस्था गुणस्तरीय नहुदाँ समेत समस्या हुदैँ आएको छ । यसकाे लागि सरकारले सवारी साधनकाे व्यवस्था गर्नका लागि पहल गर्न आवश्यक छ ।

उनले किसानले उत्पादन गरेको दुध खपत नहुदाँ यसबाट बन्ने दुग्धजन्य उत्पादन जस्तै चिज, पनिर जस्ता वस्तुहरु बनाएर समेत निर्यात गर्नको लागि आवश्यक रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ, वस्तुगत संघका उपाध्यक्ष हेमराज ढकालले नेपाल डेरी एसोसिएसनले विगतदेखि नै दुध किसानहरूको समस्यालाई समाधान गर्नको लागि भूमिका निर्वाह गर्दै आएको बताउँदै अगामी दिनमा समेत उक्त कार्यलाई निरन्तरता दिन आग्रह गरे ।

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले एसोसिएसन स्थापना हुनुको मुख्य उद्देश्य भनेको दुग्ध प्रशोधन व्यवसायीहरूको सामूहिक व्यवसायीक हक हित सुरक्षा र उन्नतिका लागि काम गरेको र अगामी दिनमा समेत उद्योगीहरूको सुझाव लिएर काम गर्ने बताएका छन् ।

अध्यक्ष दाहालले दुग्ध क्षेत्रमा देखिएका समस्याका विषयमा समय समयमा बैठक बसेर छलफल चलाउनुका साथै समाधानका लागि समेत विशेष पहल गर्दै आएको बताए ।

वर्तमान समयमा दुधको खपत कम भएर बाहिरबाट आयात हुँदा देशमा दुध तथा दुग्ध पदार्थ व्यवस्थापन गर्न कठिन भएको दाहालको भनाइ छ । “अहिले सरदर ५ अर्ब बराबरको धुलो दुध र बटर स्टक भएको अनुमान छ । यसको समाधानको लागि उपभोग बढाउने कार्यक्रमहरू ल्याउन सक्दा पनि राम्रै हुन्छ । जसले स्कुलमा विद्यार्थी, आर्मी, पुलिस, खेलाडीलाई दुधको महत्व बुझाई सेवन गर्न प्रेरित गर्न सक्दा उपभोग बढ्न सक्छ,” उनले भने ।

एसोसिएसनले कार्यक्रममा उपस्थित सबै अतिथीहरूलाई ठेकी र घ्यु मायाको चिनोको रूपमा प्रदान गरेकाे छ । आफ्ना हरेक कार्यक्रममा दुध तथा दुग्ध पदार्थ मायाको चिनोको रूपमा प्रदान गर्दै आएको थियाे ।

एसोसिएसनले रजत जयन्ती कार्यक्रमकाे पूर्व सन्ध्यामा ५ दिनसम्म देशभर विभिन्न कार्यक्रम समेत गरेकाे थियाे । नेपालमा पशुपालन व्यवसाय र डेरी व्यवसायलाई राज्यले सहयोग गर्न सक्दा आर्थिक गतिविधि, रोजगार, कृषि जन्य पदार्थ आयातमा समेत कमि हुने र आजकाे दिनमा शहरबाट करिब ५ करोड रुपैँया दैनिक गाउँसम्म जाने गरेको एसोसिएसनले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !