६ जेष्ठ २०८१, आइतबार

रकम अपचलन गर्नेहरूले नै सहकारी पीडितको समस्या समाधान गर्नुपर्छः आरजू राणा

प्रकाशित मिति :  22 January, 2024 1:02 pm


काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजू राणाले सहकारीको रकम ठगी गर्नेले नै सहकारी पीडितको समस्या समाधान गर्नुपर्ने बताएकी छन्।

हिजो (आइतबार) समितिको बैठकमा बोल्दै सभापति राणाले सहकारी पीडितहरूको समस्या राज्यले समाधान गर्नुपर्ने कुराहरू बाहिर आइरहेको भन्दै राज्यले नभएर सहकारीमार्फत पीडितहरूकाे रकम अपचलन गर्नेहरूले तिर्नु पर्ने बताएकी हुन्।

उनले राज्यले सबै पीडितहरूको समस्या समाधान गर्न नसक्ने भन्दै ठगी गर्नेहरूबाट रकम फिर्ता गराएर समाधान गर्नुपर्ने बताइन्। उनले सहकारी ठगी गर्ने समूहलाई सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न लगाउने तर फिर्ता नगरे कानुन बमोजिम कारबाही गर्न आवश्यक रहेको बताइन्।

उनले प्रधानमन्त्री तहबाट नैसहकारी समस्या समाधानको उपाय निकल्न सक्ने अवस्था रहेको बताइन्। उनले सहकारी ठगी र बचतकर्ताको रकम अपचलन बचतकर्ताहरुको जीवनसँग जोडिएकाले सरकारले गम्भीर भएर दोषीलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने बताइन्।

उनले भनिन्, “सहकारी समस्याको समाधान सरकारले दिने होइन। सरकारले के–के लाई समाधान दिन्छ। जसले ठगेको छ। त्यही समूहले सहकारी बचतकर्ताको रकम फिर्ता गर्नुपर्छ। सहकारी समस्या समाधानको लागि नीतिगत सुधारको लागि प्रधानमन्त्री कार्यालयलाई ध्यानाकर्षण पत्र लेख्नुपर्छ। त्यहाँबाटै सहकारी समस्या समाधानको उपाय निकाल्न सक्छन्। सहकारी ठगी र रकम हिनामिना मानिसहरुको जीवनसँग जोडिएको छ।”

उनले स्थानीय तह,प्रदेश र संघमा सहकारीलाई वर्गीकरण गरेको भए बैंक र सहकारीलाई एकै किसिमले हेर्ने गरिएको बताइन्। उनले नेपालमा बैंक स्थापना गर्न अफ्ठ्यारो तर सहकारी स्थापना गर्नु भनेको चोर बाटो भन्ने बुझाईले धेरै सहकारी दर्ता गरी सजिलै पैसा राख्ने र झिक्न सकिने भएको बताइन्।

उनले २०७४ सालको सहकारी ऐनले बचत तथा ऋणको कारोबार पाउने गरी आएको ऐनलाई टेकेर सहकारीमा भएका ठगीहरु रोक्न कानुनलाई सच्याउन आवश्यक रहेको बताइन्।



प्रतिक्रिया दिनुहोस !