२१ बैशाख २०८१, शुक्रबार

सहकारीबाट मेरो खातामा एक करोड ८० लाख आएको कुरा गलत होः सभापति लामिछाने

प्रकाशित मिति :  22 January, 2024 6:03 pm


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीबाट एक करोड ८० लाख रुपैयाँ आफ्नो खातामा हालेको भन्ने समाचारको खण्डन गरेका छन् ।

सोमवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो निजी खातामा एक करोड ८० लाख भएको भन्नेकुरा गलत रहेको दाबी गरेका छन् । उनले सञ्चरमाध्यमले ग्यालेक्सी छोड्दा आफ्नो खातामा एक करोड ८० लाख रुपैयाँ सहकारीकै पैसा हो भन्ने प्रमाणित गर्न खोजेर समाचार प्रकाशन गरेको बताए । उनले आफूलाई ग्लोवल आईएमई बैंकले खातामा पैसा नआएको पत्र पठाएको बताए ।

सोमवार कान्तिपुर दैनिकले ‘ग्यालेक्सी छोड्दा लामिछानेको निजी खातामा १ करोड ८० लाख जम्मा’ शिर्षकमा समाचार प्रकाशित गरेको थियो । समाचार प्रकाशन गरेसँगै सभापति लामिछानेले पत्रकार सम्मेलन गरेर बैंकलाई नसोधीकन आफ्नो बिरुद्धमा समाचार लेखिएको र निजी खातामा एक करोड ८० लाख आएको कुरा गलत रहेको दाबी गरे ।

उनले भने, ‘ग्यालेक्सी छोड्दा मेरो खातामा एक करोड ८० लाख आयो । मैले जम्मा गरेँ भन्ने कुरा गरेर त्यो सहकारीकै पैसा हो भन्ने प्रमाणित गर्न खोजिएको देखियो । यो गलत हो । मैले यो समाचारका लागि अलिकित समय दिनुस् न, हतार नगर्नुस् न भने । ग्लोवल आइएमई बैंकले खातामा पैसा नआएको बताएको छ । बैंकलाई सोधिदिएको भए पनि भनिदिन्थ्यो उहाँहरुले सोध्नुभएन । सिधै मेरो खातामा पैसा आएको भनेर लेख्नुभयो । निजी खातामा एक करोड ८० लाख भएको भन्नेकुरा गलत छ ।’

सभापति लामिछानेले सञ्चारकर्मीमाथि पर्सनल अट्याक गर्नु आफ्नो गल्ती भएको स्वीकार समेत गरे ।



प्रतिक्रिया दिनुहोस !