२१ बैशाख २०८१, शुक्रबार

काठमाडौँ महानगरकाे प्रमुख प्रशासकीय अधिकृतमा परियार, आजबाट सम्हाले पदभार

प्रकाशित मिति :  24 January, 2024 5:53 pm


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियारले आज पद बहाली गरेका छन्। माघ ३ गतेको मन्त्रिपरिषदको निर्णय अनुसार उनी राष्ट्रिय योजना आयोगबाट सरुवा भएर काठमाडौँ महानगरपालिका आएका हुन् । यही निर्णयबाट निवर्तमान प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी मधेशी आयोगमा सरुवा भएर गएका छन् ।

पदवहालीपछि विभागीय प्रमुखहरुसँगको परिचयात्मक कार्यक्रममा उनले, वार्षिक नीति तथा कार्यक्रममा साझा दृष्टि बनाएर समूहगत कार्य प्रणालीबाट लक्ष्य प्राप्त गर्नु पर्ने बताए । ‘स्थानीय सरकार लोकतन्त्रको प्रयोगशाला हो । हाम्रो सेवा प्रणालीबाट यसको परीक्षण हुन्छ । यसका लागि हामीले काम गर्नु पर्नेछ ।’उनले भने ।

सांस्कृतिक पहिचान र पर्यटन प्रवर्धनमा काठमाडौँले काम गर्नु पर्ने बताउँदै उनले महानगर गौरब र स्वर्णिम योजनालाई सफल बनाउन, जनप्रतिनिधिको नीति र कार्यक्रमलाई कर्मचारी संयन्त्रले प्रभावकारी कार्यान्वयन गरेर सफलता प्राप्त गर्ने काममा दृढ रहेको उल्लेख गरे ।
वि। सं। २०६९ सालमा नायव सुब्बा पदबाट निजामती सेवामा प्रवेश गरेका परियार २०७० सालमा शाखा अधिकृत र २०७८ सालमा राजपत्राङ्कित प्रथम श्रेणी सहसचिव पदमा पदस्थापन भएका हुन् ।

उनले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय योजना आयोग, गृह मन्त्रालय, सहरी विकास मन्त्रालयलगायत कार्यालयमा काम गरेका छन् ।

उनले अष्ट्रेलियन नेशनल युनिभर्सिटीबाट पब्लिक पोलिसी विषयमा स्नातकोत्तर गरेका छन्



प्रतिक्रिया दिनुहोस !