६ जेष्ठ २०८१, आइतबार

राष्ट्रिय सभाको चुनाव हुँदै, आज बेलुकासम्म नतिजा आइसक्ने

प्रकाशित मिति :  25 January, 2024 7:25 am


काठमाडौँ। राष्ट्रिय सभाका १९ सदस्यका लागि आज चुनाव हुँदैछ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा मतदान हुने भएको छ।

राष्ट्रियसभा सदस्यका लागि सातै प्रदेशबाट ५१ जना चुनावी मैदानमा छन् । बाग्मतीबाट ४, गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट ३/३ तथा कोशी, मधेस र लुम्बिनी प्रदेशबाट २/२ सदस्य निर्वाचित हुनेछन् । 

सत्ता गठबन्धनबाट कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाले साझा उम्मेदवार अघि सारेर गठबन्धन गरेका छन् । 

कोशीमा एमालेले राप्रपासँग गठबन्धन गरेको छ । अरु प्रदेशमा भने एमाले एक्लै प्रतिस्पर्धामा छ । आजै बेलुकीसम्म मतपरिणाम घोषणा भैसक्ने निर्वाचन आयोगले जनाएको छ । 

आयोगका अनुसार सातै प्रदेशबाट ५ सय ४९ प्रदेशसभा सदस्य र १४ सय ९८ पालिका प्रमुख उपप्रमुखले राष्ट्रियसभा चुनावमा मतदान गर्नेछन् ।

निर्वाचन आयोगका अनुसार कोशी प्रदेशको विराटनगर, मधेस प्रदेशको जनकपुर, बाग्मती प्रदेशको हेटौँडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा दुईरदुई वटा मतदान केन्द्र स्थापना गरिएको छ । 

प्रदेशसभा सदस्यका लागि एउटा तथा पालिका प्रमुख र उपप्रमुखका लागि एउटा गरी हरेक प्रदेशमा दुईरदुई वटा मतदान केन्द्रको व्यवस्था गरिएको हो ।



प्रतिक्रिया दिनुहोस !