६ जेष्ठ २०८१, आइतबार

प्रदेश कृषि सहकारी संघ र श्रीनगर एग्रीटेक इन्डस्ट्रिजबिच सम्झौता

प्रकाशित मिति :  25 January, 2024 8:31 am


काठमाडौँ । प्रदेश कृषि सहकारी संघ लिमिटेड लुम्बिनी प्रदेश र श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको संयुक्त आयोजनामा परियोजना सञ्चालन तथा अभिमुखिकरण कार्यक्रम बुटवलमा सम्पन्न भएको छ ।

सो अवसरमा प्रदेश कृषि सहकारी संघ र श्रीनगर एग्रीटेक इन्डस्ट्रिजबिच कृषि तथा साना किसान कृषि सहकारी संस्थाका किसान सदस्यलाई प्राविधिक तथा अन्य आबश्यक सेवा प्रदान गर्ने सम्झौता भएको हो ।

प्रदेश कृषि सहकारी संघका अध्यक्ष नरबहादुर घर्तिमगरले यो सम्झौताले संघमा आबद्ध भएका किसानहरुलाई सहयोग पुग्ने बताए । किसानहरुले आबश्यक पर्ने प्राविधिक सहयोगसँगै मकै, धान, गहुँको बिउ, कुखराको दाना, चल्ला सहजरुपमा पाउने उनले बताए । किसानले उत्पादन गरेका बस्तुको बजारीकरणमा समस्या नरहेको उनको भनाई थियो ।

नेपाल कृषि सहकारी केन्द्रिय संघ तथा साना किसान विकास लघुवित्त वित्तिय संस्थाका अध्यक्ष खेमबहादुर पाठकले कृषिमा आधारित नेपालको अर्थतन्त्र सुधारका लागि साना किसानलाई स्वाबलम्बन बनाउनुपर्ने बताए ।

नेपालका दुरदराजका गरिब किसानको जीवन रुपान्तरणमा निरन्तर काम गर्दै आएको उनले बताए । ग्रामीण क्षेत्रमा सानाकिसानले भोगिरहेको आर्थिक समस्यालाई निधान गर्ने एक मात्र संस्था साना किसान विकास लघुवित्त भएको दावी गरे । उनले पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका साना किसानलाई गोलवद्ध गर्दै पूँजीको पहुँच वृद्धि गर्न सफल भएको बताए ।

श्रीनगर एग्रीटेक इन्डस्ट्रिजका अध्यक्ष सतिषकुमार श्रेष्ठले सम्झौताअनुसार किसानलाइ आबश्यक सहयोग पुर्याउने प्रतिबद्धता जनाए । अभिमुखिकरण कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका लेखा सुपरिभेक्षण समिति संयोजक भिमप्रसाद तुलाचन, श्रीनगर एग्री टेक इन्डस्ट्रिजका निर्देशक मौषमी श्रेष्ठ, नेपाल कृषि सहकारी केन्द्रिय संघका सञ्चालक रामप्रसाद रेग्मी, झुपा न्यौपाने लगायतको आतिथ्यता रहेको थियो ।

यस्तै प्रदेशका १२ जिल्ला मध्ये रुकुम पूर्व र रोल्पा बाहेक १० जिल्लाबाट ६५ संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । दोस्रो चरणमा १२ वटै जिल्लाका सबै संस्थाहरुलाई समेटेर कार्यक्रम आयोजना हुने अध्यक्ष घर्तिमगरले बताए ।

दाङको राप्ती गाउँपालिका–२ लालमटियामा मुख्य कार्यालय रहेको प्रदेश कृषि सहकारी संघले बुटवलमा सम्पर्क कार्यालय स्थापना गरी आफ्नो सेवा विस्तार गरेको छ ।

संघमा प्रदेशका १२ वटै जिल्लाका १६० वटा साना किसान तथा अन्य कृषि सहकारी संस्था आबद्ध भएका छन् । श्रीनगर एग्रीटेक इन्डस्ट्रिजका प्रतिनिधी दिनेश क्षेत्रीको स्वागत तथा प्रदेश कृषि सहकारी संघका सचिव हरि अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।



प्रतिक्रिया दिनुहोस !