२१ मंसिर २०८२, आइतबार

स्थानीय तहको प्रभावकारी कार्य सम्पादनले संघीयता बलियो बनाउँछः मन्त्री शर्मा

प्रकाशित मिति :  25 January, 2024 6:48 pm


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले संघीयतालाई बलियो बनाउन स्थानीय सरकारको कार्यसम्पादन प्रभावकारी बनाउँदै ल्याैजानु पर्ने बताएकी छन् । स्थानीय सरकारले गर्ने कार्य सम्पादनले स्थानीय तहको मात्र नभई तीनै तहका सरकारको कार्य सम्पादन प्रस्तुत गर्ने र संघीयतालाई बलियो बनाउनु पर्ने बताएकी हुन् ।

सेन्टर फर इनोभेटिभ गभर्नेन्स प्राक्टिसेज (सिआईजीपी) ले आयोजना गरेको स्थानीय सरकारका प्रवक्ताहरूको तीन दिने प्रशिक्षण कार्यक्रम समापन गर्दै मन्त्री शर्माले तीनै तहका सरकारले गर्ने कामको पहिलो जस र अपजस पनि स्थानीय सरकारलाई नै जाने भएकाले सेवा प्रवाह र कार्य सम्पादनमा बढी ध्यान दिनुपर्ने बताइन् ।

संविधान जारी भएलगत्तै स्थानीय तहहरू क्रियाशील भएको र अधिकांश कानुनको अभावमा काम गर्नु परेकाले सुरूका वर्षहरूमा बेथितिहरू देखिए पनि क्रमशः कानुनहरू बन्दै जाँदा स्थानीय सरकारहरूको कार्य सम्पादनमा परिपक्वता बढ्दै गए उनले बताइन् ।

“कतिपयले संघीयता महङ्गो भयो, स्थानीय तहलाई धेरै अधिकार दिइयो भनेर टिप्पणी पनि गर्ने गरेका छन्,” उनले भनिन्,”धेरै टाढा नजाऔं, भर्खरै पश्चिम नेपालमा गएको भूकम्पपछिको उद्धारको अवस्था हेरौं, स्थानीय सरकार नभइदिएको भए आधा घण्टामै उद्धार सुरु हुन सक्दैन्थ्यो ।”

यो एउटै घटनाबाट पनि संघीयता कति आवश्यक रहेछ भन्ने पुष्टि भएको र जनताका दैनिक दिनका समस्याको समाधान स्थानीय सरकारहरूले गर्दै आएको उनले बताइन् ।



प्रतिक्रिया दिनुहोस !