२२ बैशाख २०८१, शनिबार

सहकारी ठगी प्रकरणमा जीबी राईविरुद्ध डिफ्युजन नोटिस जारी

प्रकाशित मिति :  28 January, 2024 4:43 pm


काठमाडौँ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जीबी राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ । सहकारी ठगीको मुद्दामा राईविरुद्ध शुक्रबार इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीले राईविरुद्ध डिफ्युजन नोटिस जारी गर्न पुस ५ गते प्रहरी प्रधान कार्यालयमा पत्राचार गरेको थियो ।

त्यसपछि प्रहरी प्रधान कार्यालयले अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलमा पत्राचार गरेको थियो । यो नोटिस जारी भएपछि इन्टरपोलका सदस्य मुलुकहरूमा भए डिपोर्ट गराएर नेपाल ल्याउने प्रक्रिया थालिने प्रहरीले जनाएको छ । डिफ्युजन नोटिस जारी भएसँगै इन्टरपोलका १९६ सदस्य राष्ट्रले उनीमाथि निगरानी गर्नेछन् ।

ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक समेत रहेका राईविरुद्ध विभिन्न सहकारीमा बचतकर्ताको रकम हिनामिना गरेको आरोप छ । राईसहितको समूहले सहकारीको एक अर्ब ३५ करोड रुपैयाँ हिनामिना गरेको पाइएको छ । सहकारीमा रकम जम्मा गरेर फिर्ता नपाएको भन्दै एक हजार ३५ बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए ।



प्रतिक्रिया दिनुहोस !