२१ बैशाख २०८१, शुक्रबार

भारतसँग हालै गरिएको विद्युत् खरिद सम्झौता तत्काल सार्वजनिक गर्न सांसदहरूको माग

प्रकाशित मिति :  28 January, 2024 5:46 pm


काठमाडौँ । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका प्रतिपक्ष दलहरूले भारतसँग हालै गरिएको विद्युत् खरिद सम्झौता तत्काल सार्वजनिक गर्न सरकारलाई दबाब दिएका छन् ।

आइतबार सिंहदरबारमा बसेको संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै एमालेका सचेतक महेश बर्तौला, रास्वपाका प्रमुख सचेतक सन्तोष परियारलगायतका सांसदहरूले सो सम्झौता तत्काल संसदीय समितिमा पेस गर्न सरकारसँग माग गरेका हुन् ।

एमालेका सचेतक बर्तौंलाले सो सम्झौता तत्काल समितिमा पेस गर्न दिएको निर्देशन सरकारले अटेर गरेको भन्दै आपत्ति समेत जनाए । उनले संसदीय समितिले दिएको निर्देशन सरकारले पालना नगर्ने कुरा कुनैपनि हालतमा स्वीकार्य नहुने चेतावनी दिँदै तत्काल समितिका उपलब्ध गराउन ढिलाइ नगर्न पनि सरकारलाई सचेत गराए ।

रास्वपाका प्रमुख सचेतक परियारले संसदीय समितिले दिएको निर्देशन अवमूल्यन गर्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराए ।

उनले सो सम्झौताको प्रति तत्काल उपलब्ध गराउनका लागि सरकारलाई फेरि रुलिङ गर्न पनि कानुन, न्याय तथा मानव अधिकार समितिका सभापतिलाई सुझाव दिए ।

प्रमुख सचेतक परियारले प्रधानमन्त्री पुष्पकमल दाहाल आफैँले आएर समितिमा सो प्रति उपलब्धि गराउँछु भनेको कुरा पनि हालसम्म नआउने कुरा उचित नभएको बताए । संसद् नभएको बेला जनतालाई जानकारी गराउन पनि त्यस्ता खालका सम्झौता सरकारले संसदीय समितिमा पेस गर्नुपर्ने उनको भनाई थियो ।

प्रमुख सचेतक परियारले कानुन समितिको क्षेत्राधिकार भित्र पर्ने सो सम्झौताको प्रतिलिपि सोही समितिमा सरकारले तत्काल बुझाउनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !