२५ बैशाख २०८१, मंगलबार

नेपाली संस्कृति मास्नेगरी बाँदर निकासी गर्नु हुँदैन: संरक्षणविद्

प्रकाशित मिति :  30 January, 2024 5:03 pm


काठमाडौं । संरक्षणविद्हरूले बाँदरको निकासी गर्नु नहुने बताएका छन् ।

मंगलबार राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै संरक्षणविद्हरूले बाँदरको निकासी गर्न नहुने धारणा राखेका हुन् । उनीहरूले बाँदर नेपालको संस्कृतिसँग पनि सम्बन्धित भएको भन्दै नेपाली संस्कृति मास्नेगरी निकासी गर्न नहुने बताएका छन् ।

बैठकमा बोल्दै संरक्षणविद् तथा नेपाल सरकारका पूर्वसचिव डा। उदयराज शर्माले नेपालमा पटक–पटक बाँदर निकासीको कुरा उठ्ने गरेको भन्दै त्यसो गर्नु नहुने बताए । उनले बाँदरको निकासी गरेर आक्रमण कम नहुने बताए । बाँदरले दुःख दिएको अवस्थामा सरकारले निर्णय गरेर मार्न भने सकिने धारणा राखे ।

संरक्षित जनावरलाई मात्रै मार्न नपाउने नेपालको विद्यमान कानुन रहेको उल्लेख गर्दै उनले रातो बाँदर संरक्षित जनावरभित्र नपर्ने स्पष्ट पारे । यद्यपि, बाँदर शिकार गर्ने जनावर पनि नभएको भन्दै उनले दुःख दिएमा सरकारले निकास दिन सक्ने बताए ।

पछिल्लो समय मानव र वन्यजन्तुका बीचमा द्वन्द बढ्दै गएको भन्दै उनले अधिक वन्यजन्तुप्रेमी हुनुपनि आवश्यक नभएको बताए ।

बैठकमा बोल्दै लेखक अश्विनकुमार पुडासैनीले पोखरा–१९ का वडाध्यक्षले ‘मेरो रुख म काट्छु’ अभियानको नाममा आफ्नो घर वरपरको रुख काट्न निर्देशन जारी गरेको प्रसंग निकाल्दै त्यो समाधानको बाटो नभएको बताए । उनले रुख काटेर बाँदरको समस्या समाधान नहुने बताए ।

त्यस्तै, निकासी गरेर वा मारेर पनि समस्याको समाधान नहुने उनको भनाइ छ । समस्या समाधानका लागि बस्तीलाई व्यवस्थित र प्रकृतिमैत्री बनाउनुपर्नेमा उनले जोड दिए ।

उनले भने, “पोखरामा वडा अध्यक्षले बाँदरले दुःख दियो, त्यहाँ भएको रुख काट भन्नुभएछ । त्यो समाधान होइन । रुख काटेर समाधान हुँदैन । बाँदर मारेर पनि समाधान हुँदैन । बाँदर निकासी गरेर पनि समाधान हुँदैन । वन्ध्याकरण गर्नुपर्‍यो भनेर पनि भन्न थालेका छन् । त्यो पनि समाधान होइन । समाधान के हो त भन्दा जो पीडित छन्, ती पीडितहरू त्यो क्षेत्रमा पुगेर र हाम्रो अवस्था के छ, त्यो हेरेर हाम्रो सांस्कृतिक परम्पराका कुरालाई पनि ध्यान दिएर के हो त समाधान रु हामी समाधान यसरी हेर्न सक्नुपर्‍यो ।”



प्रतिक्रिया दिनुहोस !