भीरकोटको शुभलक्ष्मी सहकारी संस्थाद्धारा विद्यार्थीलाई न्यानो कपडा वितरण
काठमाडौँ । स्याङ्जाको भीरकोट नगरपालिका वडा नम्बर २ मा रहेको शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ । सहकारीले दहथुम माविको ७२ औं बार्षिकोत्सवकाे अवसरमा न्यानो कपडा वितरण गरेको हो ।
संस्थाको अध्यक्ष भक्त बहादुर केसी सहितको संचालक समितिको टोलीले २० जना गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ ।
कार्यक्रममा संस्थाको तर्फबाट बोल्दै संस्थाका अध्यक्ष केसीले शुभलक्ष्मी सहकारी संस्थाले सदस्य र समुदायको हितमा रहेर काम गरिरहेकाे बताए ।
समुदाय भित्र आर्थिक अभावकै कारण शिक्षाबाट बन्चित हुन नपरोस भन्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले शुभलक्ष्मी सहकारी संस्था नाफाको सोच भन्दा पनि सदस्यहरूको विशुद्ध सेवामा लागी परेको पनि बताए ।
संस्थामा बचतको सुरक्षाका साथ उच्चतम ब्याजदर र ऋणमा सहज तरिकाले सुलभ दरमा सदस्यहरूलाई बिना धितो तथा सामुहिक जमानीमा ऋण प्रवाह गरेका अध्यक्ष केसीले बताए । सामुदायिक विद्यालयहरूमा कार्यरत शिक्षकहरूलाई उत्पादनमुलक,सिपमुलक र आयमुलक कार्यको लागि बिना धितो पाँच लाख सम्म ऋण प्रवाह गरेकाे संस्थाले जनाएकाे छ ।








