२६ बैशाख २०८१, बुधबार

तत्काल मन्त्रीमण्डल फेरबदल हुने अवस्था छैनः मन्त्री गुरुङ

प्रकाशित मिति :  31 January, 2024 2:19 pm


काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले तत्काल मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना नरहेको बताएका छन् ।

मन्त्रीहरूको कार्य प्रगतिलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्री फेर्ने बताएपनि काँग्रेस उपसभापतिसमेत रहेका मन्त्री गुरुङले तत्काल मन्त्री मण्डल परिवर्तन हुने अवस्था नरहेको बताएका हुन् ।

नेपाल प्रेस युनियन रूपन्देहीले बुधवार बिहान बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले सत्तारुढ दलका नेताहरुबिच तत्काललाई अहिलेकै मन्त्रीमण्डल सही रहेकाले परिवर्तन गरिरहन आवश्यक नपर्ने सहमति भएको बताए ।

मन्त्री गुरुङले राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा भएको ‘क्रसभोट’ले गठबन्धनभित्र तरंग ल्याएपनि खासै असर नपार्ने बताए । कोशीमा भएको घटनाले गठबन्धन दलभित्र गम्भीर समीक्षा शुरू भएको मन्त्री गुरुङले बताए ।

उनले भने, ‘सत्तारूढ दलका नेताहरूबिच छलफल गर्दा अहिलेलाई यही ठिक छ । तर मन्त्रीहरूको पर्फमेन्स चाहीँ देखाउनुपर्छ भन्ने भएको छ । मन्त्रीहरू तत्कालका लागि मन्त्री फेरबदल हुँदैन ।’

मन्त्री गुरुङले संक्रमणकालीन न्यायसम्बन्धी टिआरसी विधयेकको विषय सहमतिकै आधारमा टुंगो लगाउनेगरी आफू क्रियाशील रहेको बताए ।

सकभर सहमति नभए प्रक्रियामा गएर भएपनि टिआरसी विधेयक अबको अधिवेशनबाटै टुंगो लाग्ने मन्त्री गुरुङको भनाइ छ । हिउँदे अधिवेशनमा सरकारले धेरैभन्दा धेरै विधेयकहरू लैजाने तयारी गरेको मन्त्री गुरुङले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !