२३ बैशाख २०८१, आइतबार

‘भारतीय कम्पनीलाई नेपालका अन्तर्राष्ट्रिय विमानस्थलको जिम्मा दिनु हुँदैन’

प्रकाशित मिति :  31 January, 2024 5:22 pm


काठमाडौँ । नागरिक अभियन्ताहरूले भारतीय कम्पनीलाई नेपालको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा दिँदा रणनीतिक स्वार्थमा ठुलो आघात पर्ने बताएका छन् ।

बुधवार काठमाडौँमा भएको नेपालमा अन्तर्राष्ट्रिय विमानस्थलहरू विदेशीसँग सौदाबाजी गर्ने षड्यन्त्रका विरुद्ध अन्तरक्रिया कार्यक्रममा बोल्दै अभियन्ताहरूले यस्तो बताएका हुन् । उनीहरूले आर्थिक सामाजिक हिसाबमा एउटै मुलुकसँग आश्रित रहनुपरेको अवस्थामा त्यही देशको कम्पनीलाई अन्तर्राष्ट्रिय उडानको जिम्मा दिनु भनेको रणनीतिक स्वार्थ माथिको ठुलो आघात भएको बताएका हुन् ।

उनीहरूले बाहिर आएको जस्तो नेपालका सबै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा भारतीय अडानि ग्रुपलाई दिने तयारी भएको भए घातक विषय भएको बताए । नागरिक अभियन्ता एवं नेपाल सरकारका पूर्वमुख्यसचिव लीलामणि पौडेलले अन्तर्राष्ट्रिय विमानस्थलहरू भारतीय कम्पनीलाई सञ्चालन गर्न दिने कुरा आर्थिक,प्राविधि र राष्ट्रको दीर्घकालीन हिसाबले उपयुक्त नभएको बताए । उनले भूपरिवेष्टित मुलुकहरूले बाह्य विश्वसँग सम्पर्क गर्ने माध्यम हवाई र रेल्वे यातायात भएको बताए ।

उनले नेपालले हवाई उडानलाई विदेशी मुलुकसँग बहुपक्षीय सम्बन्ध बिस्तारको लागि प्रयोग गरिरहेको बताए । आर्थिक, सामाजिक हिसाबमा एउटै मुलुकसँग आश्रित रहनुपरेको अवस्थामा त्यही देशको कम्पनीलाई अन्तर्राष्ट्रिय उडानको जिम्मा दिनु भनेको देशलाई ठुलो आघात हुनु रहेको धारणा राखे । उनले नेपालको बाह्य मुलुकसँग जोडिने माध्यम भनेको हवाई यातायात भएको भन्दै अन्तर्राष्ट्रिय विमानस्थलहरू राज्यको अग्रसरतामा सञ्चालन गराउनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै पूर्वअख्तियार प्रमुख सूर्यनाथ उपाध्यायले नेपालमा सबै अन्तर्राष्ट्रिय विमानस्थल भारतीय कम्पनीलाई सञ्चालनमा दिने विषय बाहिर आएकाले यसको विषयमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने रहेको बताए । उनले वर्तमान सरकार भारतसँग कम्फरटेबल रहेको प्रधानमन्त्री पुष्पकमल दाहालको भनाइले सबै कुरा बुझ्न सहज हुने बताए ।

नेकपा मालेका महासचिव सिपी मैनालीले नेपाल घेरेको मुलुकको कम्पनीलाई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न दिन नहुने बताए । उनले मुलुक गरिव र विमानस्थल सञ्चालनको विज्ञतामा कमी भए पनि भारतीय कम्पनीलाई दिन नहुने भन्दै नेपाल सरकारले नै सञ्चालन गर्नुपर्ने जिकिर गरे ।

उनले अन्तर्राष्ट्रिय विमानस्थल भारतीय कम्पनीलाई सञ्चालन गर्न दिने विषय मुलुकको सुरक्षा,राजनीति र भूराजनीतिबाट अलग गरेर हेर्न नसकिने बताए । उनले वर्तमान सरकार बनेदेखि विवादास्पद बन्दै गएको बताए । उनले सरकारलाई मुलुकलाई आघात हुने खालका कामहरू गर्न छुट नभएको भन्दै सबैले खबरदारी गर्न आवश्यक रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !