२१ बैशाख २०८१, शुक्रबार

‘प्रथम बृहत सुनछहरी साँस्कृतिक महोत्सव तथा श्रष्टा सम्मान’को तयारी पुरा

प्रकाशित मिति :  4 February, 2024 5:07 pm


रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिकाले गर्न लागेको ‘प्रथम बृहत सुनछहरी साँस्कृतिक महोत्सव तथा श्रष्टा सम्मान’को सम्पूर्ण तयारी पुरा भएको छ ।

मौलिक कला संस्कृतिको संरक्षण प्रवर्धन र विकासका लागि गर्न लागिएको कार्यक्रमको तयारी पुरा भएको सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनले जानकारी दिए ।

साँस्कृतिक प्रतियोगिता अन्तर्गत विभिन्न ६ विधामा प्रतिस्प्रधा हुने छ । गाउँपालिकाका अनुसार मारुनी नाच, सरङ्गे नाच, मैयुर नाच, पञ्चेबाजा, भूम्या नाच र लोकदोहोरी प्रतियोगिता हुने छ ।

महोसत्वमा खासगरि गाउँपालिकाभित्र रहेको मौलिक साँस्कृतिलाई संरक्षणको लागि वडा वडाबिच प्रतिस्प्रधा गराउने पालिकाले जनाएको छ ।

पालिकाभित्र रहेका सातओटा वडाबाट ‘एक वडा,एक समूह’ बनाएर मारुनी,सरङ्गे,पञ्चेबाजा र भूम्या नाचमा प्रतिस्प्रधा गराउने अध्यक्ष पुनले जानकारी दिए । लोकदोहोरीमा २ पुरुष २ महिला हुनेछन् ।

कार्यक्रममा गाउँपालिकाभित्र जन्मेर समाजका विभिन्न क्षेत्रमा योगदान पुराएका पत्रकार, कलाकार, समाजसेवीदेखि अन्य विभिन्न व्यक्तिहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको अध्यक्ष पुनले जानकारी दिए ।

कार्यक्रम सम्पन्न गर्न सुनछहरी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष अमरजित पुनको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।

कार्यक्रमको उद्घाटन पूर्वमन्त्री एवं रोल्पाबाट प्रतिनिधि सभा सदस्य वर्षमान पुनले गर्ने छन् । कार्यक्रममा पूर्वसभामुख ओनसरी घर्ती, प्रदेश सांसद जोखबहादुर महरा लगायतका नेताहरूको उपस्थिति रहने अध्यक्ष पुनले जानकारी दिए ।

महोत्सवका लागि गाउँपालिकाबाट ११ लाख रुपैयाँ छुटाइएको छ ।

उक्त रकमबाट पुरस्कार वितरणदेखि अन्य विभिन्न खर्च गर्ने गाउँपालिकाले जानाएको छ । कार्यक्रम माघ २२ गतेदेखि २५ गतेसम्म सुनछहरी वडा नम्बर ५ पोबाङमा सञ्चालन गरिने छ ।



प्रतिक्रिया दिनुहोस !