१७ बैशाख २०८१, सोमबार

आज देशभरका फिल्म हल बन्द रहने

प्रकाशित मिति :  5 February, 2024 11:04 am


काठमाडौँ । सरकारले अव्यवहारिक कर लगाएको विरोधमा आज मुलुकभरका फिल्म हल बन्द हुने भएको छ ।नेपाल चलचित्र संघले सोको विरोधमा साङ्केतिक रूपमा देशभरका फिल्म हल बन्द गर्न लागिएको जनाएको छ।

सङ्घले चलचित्र क्षेत्रलाई विभिन्न करहरूको नाममा ३३ प्रतिशतभन्दा बढी करहरू तिर्न बाध्य पारिएको भन्दै मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागू भएपछि अन्य कर नलगाउने संहितविपरीत थप कर लगाइएको आरोपसमेत लगाएको छ ।

संहिताविपरीत चलचित्र विकास शुल्क, स्थानीय मनोरञ्जन कर लगायतका विभिन्न करहरूले चलचित्र व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्था भएको जनाउँदै सङ्घले मूल्य अभिवृद्धि करबाहेकका अन्य अव्यवहारिक करहरूको खारेजीको माग पनि गरेको छ ।

सङ्घले कोरोना महामारीअघि देशभर ४५० वटा चलचित्र हल सञ्चालनमा रहे पनि अहिले १५९ वटा मात्र हल सञ्चालनमा रहेको समेत जानकारी दिएको छ । चलचित्र संघको निर्णयमा ऐक्यबद्धता जनाउँदै क्युएफएक्सले पनि आफ्नो सबै हल सोमबार बन्द रहने जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !