३ पुस २०८२, बिहिबार

हिंसा दोहोरिन नदिने गरी टिआरसी विधेयक पारित गर्नुपर्छ: ओली

प्रकाशित मिति :  5 February, 2024 1:07 pm


काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा दोहोरिन नदिने गरी संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पारित गर्नुपर्ने बताएका छन् ।

सोमवार जनकपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले टिआरसीसँग सम्बन्धित विधेयकको मस्यौदामा केही कुराहरू नमिलेकाले मिल्न बाँकी कुरा सबै मिलाएर पारित गर्नुपर्ने बताए ।

उनले पीडितहरूले न्याय पाउने, पीडित केन्द्रित कानुन बनाउनुपर्ने, अन्तर्राष्ट्रिय स्तरमा स्वीकार्य हुने, सर्वोच्च अदालतको फैसलालाई ध्यान दिएर विधेयक पारित गर्नुपर्ने बताए । ओलीले मानवता विरुद्धका जघन्य अपराधहरूमा छुट नहुने गरी र दण्डहीनता नहुने तथा फेरि नेपालमा हिंसा कहिल्यै नहोस् भन्ने ढंगले समाधान गर्नुपर्ने बताए ।

ओलीले भने, “टिआरसी पास गर्नुपर्छ । यसमा मस्यौदामा केही नमिलेका कुराहरू छन् । त्यसलाई मिलाएर पास गर्नुपर्छ । नमिल्नुपर्ने कारण नै छैन । पीडितहरूले न्याय पाउनुपर्छ । पीडित केन्द्रित हुनुपर्छ । अन्तर्राष्ट्रिय स्तरमा स्वीकार्य हुनेगरी, सर्वोच्च अदालतको फैसलालाई ध्यान दिएर हुनुपर्छ । मानवता विरुद्धका जघन्य अपराधहरूमा छुट नहुने गरी, दण्डहीनता नहुनेगरी र फेरि हिंसा नेपालमा कहिल्यै नहोस् त्यस ढंगले समाधान गर्नुपर्छ ।”

अध्यक्ष ओलीले संघीय सरकारको कामकारबाहीले संघीयता अफ्ठ्यारोमा परिरहेको बताए । उनले अहिले संघीयताको बिरुद्धमा प्रश्न गर्नु भन्दा पनि सही ढंगले कार्यान्वयन गर्नुपर्नेमा जोड दिन आवश्यक रहेको बताए ।

तेस्रो राजनीतिक दलले कहिलेसम्म सरकार चलाउने हो रु भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष ओलीले जनता सचेत नभएसम्म सरकार चलाइरहने टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस !