१९ माघ २०८२, सोमबार

रवि लामिछानेको प्रश्नः विनोद चौधरीलाई किन अनुसन्धानको दायरामा ल्याइएन ?

प्रकाशित मिति :  11 February, 2024 6:11 pm


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाँसबारी जग्गा प्रकरणमा नेपाली काँग्रेसका सांसद विनोद चौधरीलाई किन बयान नलिएको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रश्न गरेका छन् ।

आइतबार राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा सभापति लामिछानेले बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरीको जति नै सांसद विनोद चौधरीको पनि शेयर देखिएको भन्दै उनलाई किन अनुसन्धान नगरिएको भनी प्रश्न गरेका हुन् ।

उनले अनुसन्धानको दायरामा राखेर विनोद चौधरीलाई किन बयान लिइएन भनी प्रश्न गरे । उनले पूर्वगृहमन्त्री रामबहादुर थापाका फरार रहेका छोरा प्रतीक थापा बारे के पत्ता लाग्यो र खोज्ने प्रक्रिया कहाँ पुग्यो भनी प्रश्न समेत गरे । त्यस्तै इन्द्रजित राईका छोरा निरजबारे पनि उनले प्रश्न गरेका थिए ।

“बाँसबारी जग्गा प्रकरणमा अरुण चौधरीलाई केही दिन अगाडी हिरासतमा राखिएको देखियो । जग्गा हडप्दा चौधरीकै जति शेयर भएका अन्य साझेदारहरू मध्ये सत्तारुढ दलका सांसद विनोद चौधरीको पनि देखिएको छ । तर अनुसन्धानको दायरामा राखेर बयान त लिन सकिन्थ्यो होला । बयान लिइयो कि लिइएन? अरुण चौधरीको जति कित्ता शेयर छ त्यति नै कित्ता अन्यको पनि छ,” उनले भने, “पूर्वगृहमन्त्री रामबहादुर थापाका फरार रहेका छोरा प्रतीक थापाबारे केही पत्ता लाग्यो कि लागेन ? इन्द्रजित राईका फरार रहेका छोरा निरजबारे केही पत्ता लाग्यो कि लागेन? पत्ता लगाउन के–के प्रयास भयो ? मुद्दा चलिरहेका बिचौलियाहरूले नाम पोलेका पूर्व गृहमन्त्री रामबहादुर थापाको श्रीमती नैनकला थापाको अनुसन्धानबारे के भयो? यसबारे पनि केही अपडेट छन् भने अपडेट दिनुहोला ।”

उनले मुद्दा चलिरहेका विचौलियाहरूले पूर्वगृहमन्त्री रामबहादुर थापाको श्रीमति नैककला थापाको पनि नाम पोलेको भन्दै उनी अनुसन्धान भए\ नभएको जानकारी गराउन समेत माग गरे ।



प्रतिक्रिया दिनुहोस !