पश्चिम नवलपरासीको सुस्तामा हजुरबुवा र नातिको हत्या
प्रकाशित मिति : 13 February, 2024 11:47 am
काठमाडौं । पश्चिम नवलपरासीको सुस्ताको गाउँमा हजुरबुवा र नातीको हत्या भएको छ ।
उनीहरु आज मंगलबार बिहान ५ बजेर ५५ मिनेटमा घरदेखि करिब ५०० मिटर दक्षिणतर्फ मृत फेला परेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सुस्ता गाउँपालिका वडा नम्बर ३ मर्चहवा बस्ने ६५ वर्षीय यक्षलाल चमार र उनका नाति ११ वर्षका गौचरण चमार रहेका छन् ।
उनीहरूको शरीरमा धारिलो हतियार प्रहार गरी हत्या गरेको पाइएकाले अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रेशम बोहोराले जानकारी दिए ।
यक्षलाल एक छोरा, बुहारी र दुई नाति र एक नातिनीसँग बस्दै आएका थिए । उनका छोरा रोजगारीको सिलसिलामा एक(डेढ महिनाअघि भारत गएका थिए । श्रीमान् भारत गएपछि बुहारी पनि एक छोरा र एक छोरीलाई लिएर भारतस्थित माइत गएकी थिइन् । घरमा यक्षलाल एक नातिसँग मात्र बस्दै आएका थिए ।








