२० मंसिर २०८२, शनिबार

१५ करोडको कारोबार गर्दै आठौँ वालिङ महोत्सव सम्पन्न

प्रकाशित मिति :  13 February, 2024 1:40 pm


काठमाडौँ । स्याङ्जाको वालिङ नगरपालिका र वालिङ उद्योग वाणिज्य संघले आयोजना गरेको आठौँ वालिङ महोत्सव सम्पन्र भएको छ ।

गत माघ १८ देखि २८ गतेसम्म “हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान” भन्ने नाराका साथ वालिङ खेलमैदानमा उक्त महोत्सव सञ्चालन भएको थियो । महोत्सवमा करिब तीन लाख दर्शकले अवलोकन गरेकाे वालिङ उद्योग वाणिज्य संघले जनाएको छ ।

महोत्सवमा तीन सय ६६ वटा स्टल रहेको थिए जसमा स्थानीय उत्पादनलाई प्राथमिकतामा राखिएको वालिङ उद्योग वाणिज्य संघका सचिव पितम्बर खनालले बताए । उनले महाेत्सवले स्थानीय उत्पादनको बजारीकरण र आधुनिक कृषि औजारको प्रयोगलाई प्रोत्साहन गर्नुका साथै आर्थिक मन्दीका कारण सुस्ताएको व्यवसायलाई चलायमान बनाउन सहयोग गरेको बताएका छन् ।

उनका अनुसार महोत्सवमा १० करोडसम्मको कारोबार गर्ने लक्ष्य राखिए पनि अन्तिम दिनसम्म १५ करोड बराबरको कारोबार भएको छ । संघले महाेत्सवमा भएकाे नाफाको ५ प्रतिशत वालिङ खेलमैदानको संरक्षण र विकासका लागि खर्च गर्ने जनाएको छ।

औद्योगिक व्यापार मेलाका साथसाथै महोत्सवमा आकर्षणको रूपमा आधुनिक कृषि औजार प्रदर्शनी, विद्यार्थी आविष्कार प्रदर्शनी, सूचना प्रविधि तथा शैक्षिक सामाग्री प्रदर्शनी ,अदुवा तथा जडिबुटी प्रदर्शनी, स्याङ्जा डान्स आइडल सिजन ३, भजन प्रतियोगिता ,रत्यौली प्रतियोगिता, सांस्कृतिक एवं मनोरञ्जनात्मक प्रतियोगिताहरूका साथ मेला सम्पन्र भएको वालिङ उद्योग वाणिज्य संघका सचिव खनालले बताए ।

तस्विर: चन्दन केसी



प्रतिक्रिया दिनुहोस !