५ जेष्ठ २०८१, शनिबार

संक्रमणकालीन न्यायलाई राजनीतिक लेनदेनको मुद्दा बनाइनु हुँदैन: नेता कोइराला

प्रकाशित मिति :  13 February, 2024 4:21 pm


काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले संक्रमणकालीन न्यायलाई राजनीतिक लेनदेनको मुद्दा बनाइनु नहुने बताएका छन् ।

मंगलबार काठमाडौँमा आयोजित मानव अधिकार रक्षकहरूको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले संक्रमणकालीन न्यायको विषय गम्भीर भएकाले राजनीतिक मुद्दा बनाइनु नहुने बताए । उनले सर्वोच्च अदालतले दिएको निर्देशक, मानव अधिकार आयोगको निर्देशनलाई मध्यनजर राखेर संक्रमणकालीन न्यायसँग सम्बन्धित कानुन बनाइनुपर्नेमा जोड दिए । उनले पीडितलाई मर्का पर्नेगरी संक्रमणकालीन न्यायसँग सम्बन्धित कानुन बनाइनु नहुने बताए ।

नेता कोइरालाले राजनीतिक मुद्दा बनाएर पास गर्दा संसदबाट पास भएपनि अन्तर्राष्ट्रिय स्तरमा देशको छवि नरहने भन्दै संक्रमणकालीन न्याय पीडितमैत्री बन्नुपर्ने बताए ।

उनले भने, “हाम्रो लागि लोकतन्त्र आएको छ, नेताहरुको लागि लोकतन्त्र आएको छ । तर जनताको, नागरिकको लागि लोकतन्त्र आएको छैन भन्ने मैले ठहर गरेको छु । मानव अधिकार भन्ने बित्तिकै अन्य कुराहरु हेर्दा कानुनी शासन मानव अधिकार र लोकतन्त्र । लोकतन्त्रमा कानुनी शासन र मानव अधिकार भएन भने त यो लोकतन्त्र हुँदै भएन नि । त्यो कुरालाई हामीले नागरिक तहसम्म पनि बुझाउनुपर्ने र सबैभन्दा पहिला हामी आफैँले पनि बुझ्नुपर्नेछ ।”

नेता कोइरालाले लोकतन्त्र नेताहरूको लागि मात्रै आएको भन्दै अझैपनि जनताको, नागरिकको लागि लोकतन्त्र नआएको बताए ।



प्रतिक्रिया दिनुहोस !