५ जेष्ठ २०८१, शनिबार

रत्न तथा आभुषण संघभित्र उठ्यो ‘फर्जी कम्पनी दर्ता गरेर सुनको कोटा दुरुपयोग भएको मुद्दा’

प्रकाशित मिति :  16 February, 2024 3:25 pm


काठमाडौँ । रत्न तथा आभुषण संघभित्र ‘फर्जी कम्पनी दर्ता गरेर सुनको कोटा दुरुपयोग भएको मुद्दा’ उठेको छ ।

रत्न तथा आभुषण संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले विगतदेखि नै सुनको कोटा दुरुपयोग भएको भन्दै आवाज उठाएका छन् ।

ह्वाट्सएप ग्रुपमा वरिष्ठ उपाध्यक्ष गुप्ताले यस विषयमा आवाज उठाएपछि विवाद सतहमा आएको हो । यस विषयलाई लिएर अध्यक्ष सुमन ताम्राकारले आफूलाई राजीनामा गर्न भनेको गुप्ताले दाबी गरेका छन् ।

विदेशी मुद्राको दबाबको कारण सुन आयातमा कोटा छ । सोही कोटाको फाइदा उठाउँदै फर्जी कम्पनी दर्ता गरेर सुनको कारोबार भइरहेको र वास्तविक खुद्रा व्यवसायी मारमा परेको संघका वरिष्ठ उपाध्यक्ष गुप्ताको आरोप छ ।

“विदेशी मुद्रा अभावको कारण विगत १५ वर्षदेखि सुनमा कोटा प्रणाली छ । राज्यले हामीलाई विश्वास गरेर अख्तियारी दिएको यो कोटा दाहासाहीले वितरण गर्नुपर्छ भनेर मैले अध्यक्षलाई बाम्बार विभिन्न कालखण्डमा भनिरहेको छु । हामीले त्यसको विरुद्ध गर्न पाउँदैन भनेर भनिरहेको छु,” उनले भने, “यो कुरा मैले उठाउँदा अध्यक्षले एक्कासी फोन गरेर नरेन्द्रजी तपाईले तुरुन्त राजीनामा दिनु भनेर भन्नु भयो । मैले किन राजीनामा पठाउने भनेर मैले भने । तपाईले यो ह्वाट्सएप ग्रुपमा यस्ता कुराहरु उठाउने ? तपाईले संघ भित्र उठाउनुपर्ने किन बाहिर उठाउनु भएको भनेर भन्नु भयो ।”

उनले भने,“फर्जी कम्पनी दर्ता गरेर सुनको कालोबजारी व्यापार रोक्न आवाज उठाएको हुँ । बेथितीका कुरा संघ भित्र राख्नुपर्नेमा ह्वाट्सएपमा उठाएको भन्दै अध्यक्ष ज्यूले राजीनामा दिनुभएको छ तर यो विषय म भण्डाफोर गरेरै छोड्नुछ ।”

संघका अध्यक्ष सुमनमान ताम्राकारले भने आफूले वरिष्ठ उपाध्यक्ष गुप्तालाई राजीनाका लागि केही नभनेको दाबी गरे ।

अध्यक्ष ताम्राकारले भने,“मिडिया बाजी गरेर हिँड्ने हाम्रो बानी छैन यो कसरी बजारमा गयो । यो हाम्रो एक दुई कुरामा मिस अन्डरस्ट्याण्डिङ भएको होला । यो आफैँ समाधान गर्ने कुरा हो । यो हामीलाई एक आपसमा लडाउने कुरा तपाईंले कसरी पाउनु भयो यो हामीलाई थाहा छैन,” उनले भने, “उहाँले राजीनामा दिने नदिने व्यक्तिगत कुरा हो । ”

उनले सबै विषय कमिटीमा बसेर छलफल गर्न सकिने बताए । सुनको कोटा सबैतिरबाट दुरुपयोग भएको आरोप लगाउँदै वरिष्ठ उपाध्यक्ष गुप्ताले यस विषयमा सम्बन्धित निकायबाट तत्काल गम्भीर छानबिन गर्नुपर्ने माग गरे ।



प्रतिक्रिया दिनुहोस !