२१ मंसिर २०८२, आइतबार

काठमाडौँ–तराई द्रुतमार्ग: ३१ प्रतिशत काम सकियो

प्रकाशित मिति :  19 February, 2024 4:02 pm


काठमाडौँ । काठमाडौँ–तराई द्रुत मार्गको पछिल्लो ६ वर्षमा ३०.९६ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।

ललितपुरको खोकनादेखि बाराको निजगढसम्म ७०.९७७ किमि फास्ट ट्रयाक निर्माण कार्य करिव ३१ प्रतिशत भौतिक प्रगति भएको नेपाली सेनाले बताएको छ ।

द्रुत मार्गको निर्माण कार्य सुस्त देखिए पनि पछिल्लो समय फास्ट ट्रयाकमा पर्ने सुरुङ निर्माणको काम भने तिब्र गतिमा काम भइरहेको छ । नेपाली सेनाले काठमाडौँ–तराई द्रुत मार्गलाई १३ प्याकेज बनाई काम अघि बढाएको छ । काठमाडौँ–तराई द्रुत मार्गको अहिलेसम्म ५० किलोमिटर सडक निर्माणको लागि ठेक्का लागिसकेको छ भने ५ वटा प्याकेजको ठेक्का लाग्न बाँकी रहेको नेपाली सेनाले बताएको छ ।

ठेक्का लागेका आयोजनाको काम तिब्र गतिमा भइरहेको र अहिलेकै गतिमा काम भए आगमी २ वर्षमा भित्रै निर्माण कार्य सकिने नेपाली सेनाले जनाएको छ । काठमाडौँबाटै द्रुतमार्ग प्रवेश गर्ने प्याकेज ११ मा पर्ने खोकनामा जग्गा विवादले ६.५ किमि ठेक्का लाग्न बाँकी रहेको आयोजना प्रमुख विकास पोखरेलले बताए । उनले फास्ट ट्रयाक निर्माणको लागि आयोजना ठेक्का लाग्न नसके अगाडि बढ्न नसक्ने बताए । उनले अहिलेसम्म १ देखि ७ सम्म र १० नम्बर प्याकेजको ठेक्का भइसकेको बताउँदै प्याकेज नम्बर ८ ‘क’ ९ ‘क’ र ‘ख’ ठेक्का लागेको धेरै समय भएपनि उच्च अदालतमा मुद्दा चलिरहेकाले काम हुन नसकेको बताए ।

उनले चालु आर्थिक वर्षको लक्ष्य हेर्दा ९९ प्रतिशत लक्ष्य पूरा गरेको उल्लेख गर्दै नेपाली सेनालाई प्राप्त भएको जिम्मेवारी आगामी २०८३ चैतसम्म सम्पन्न गर्ने लक्ष्यमा काम गरिरहेको बताएका छन् ।

त्यस्तै, काठमाडौँ–तराई द्रुत मार्ग अन्तर्गत निर्माण हुने ६ वटा सुरुङ मार्गमध्ये तीनवटा सुरुङको निर्माण जारी रहेको छ । यसरी समग्र सुरुङ मार्गको भौतिक प्रगति ६७.४३ प्रतिशत रहेको सेनाले बताएको छ । सडक मार्गमा लेनडाँडामा १.४३०, धेद्रेमा १.६३० र महादेवटारमा ३.३५५ किसिमका ३ वटा सुरुङ निर्माणाधीन रहेका छन् । बाँकी तीन वटा देवीचौर,सिसौटार र चन्द्राम सुरुङ प्याकेज ८ को ‘ख’ र १० नम्बर प्याकेजमा पर्ने भएपनि जमिनको बनावट कमजोर भएकाले विकल्पमा सुरुङ निर्माण गर्न लागिएको बताएको छ ।

निर्माण भइरहेको सुरुङ मार्ग काठमाडौँबाट निजगढतर्फ जाँदा एउटा र निजगढबाट काठमाडौंतर्फ आउँदा अर्को छुट्टै सुरुङ प्रयोग गर्नुपर्ने भएकाले एक ठाउँको सुरुङलाई चारतर्फबाट खनिएको छ । द्रुत मार्गका ३ वटै सुरुङमार्गको ठेक्का चिनियाँ कम्पनीले पाएर निर्माण कार्य तिब्र रूपमा गरिरहेको आयोजनाले बताएको छ ।

बाँकी तीन वटा निर्माण कम्पनीका इन्जिनियर विनायक शर्माले महादेवटारमा ३.३५५ किमिमध्ये १.९४८ किमि सुरुङ खन्ने काम सकिएको बताए । उनले अब उक्त सुरुङ मार्ग १.४०५ किमि मात्र खन्न बाँकी रहेको भन्दै आगामी दशैँ तिहारको बीचमा ब्रेक थ्रु गर्ने योजना रहेको जानकारी दिए । उनले धेद्रे सुरुङमार्गको १.६३० किमिमध्ये १.१७३ किमी सुरुङ खन्ने काम सकिएको बताए ।

द्रुतमार्गमा ८९ वटा पुन निर्माण गरिँदै छन् । आकर्षक देखाउन आर्क ब्रिज निर्माण पनि गरिएको छ भने सबै पुलको कुल दूरी १२.८८ किमि रहेको छ । प्याकेज १ देखि ७ सम्म २ हजार ८ सय २ वटा फाउण्डेसन राखिनेछ । त्यसमध्ये १ हजार ६ सय ६५ वटा पायल निर्माण सकिई पुल निर्माण भइरहेका छन् । ६७ पुल निर्माणाधीन हुँदा १८ वटा खरिद प्रक्रियामा छन् । महादेवटार र धेद्रे सुरुङ जोड्न अग्लो पुल निर्माण भइरहेको छ ।

धेद्रे सुरुङबाट लेनडाँडा सुरुङ जोड्न जमिन सतहबाट ८३ मिटरको सबैभन्दा अग्लो पुल निर्माण पनि भइरहेको छ । कोरियन कन्सल्टेण्ट कम्पनीका चिफ ब्रिज इन्जिनियर डोङ किमले दुई तर्फीको लागि २ वटा पुल बन्ने जानकारी दिए । उनले एउटा २७० मिटर लामो र अर्को २४५ मिटर लम्बाईका पुल बन्ने बताए ।

सेनाले २०८१ मंसिरभित्र काम सकिसक्नुपर्ने भएपनि उक्त अवधिमा काम नसकिने भएपछि ०८३ चैतसम्म म्याद थप गरिएको छ । यसको सुरू अनुमानित बजेट १ खर्ब ७५ अर्ब रुपैयाँ भएपनि म्याद थपसँगै लागत पनि २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ पु¥याइएको छ । अहिलेसम्म ३१.५७ प्रतिशत खर्च भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस !