१२ श्रावण २०८१, शनिबार

एभरेष्ट अस्पतालको फोहोर संकलनमा रोक

प्रकाशित मिति :  21 February, 2024 1:52 pm


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वरमा रहेको एभरेष्ट अस्पतालको फोहोर संकलनमा आजदेखि रोक लगाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको नेतृत्वमा गएको अस्पताल अनुगमनका क्रममा स्वास्थ्य संस्थाले अवलम्बन गर्नु पर्ने मापदण्ड पालना नगरेको पाइएपछि फोहोर संकलनमा रोक लगाइएको हो ।

अस्पतालजन्य फोहोर व्यवस्थापन अनुगमन गर्ने क्रममा त्रुटि पाइएपछि अस्पताललाई यसअघि (२०७९ बैशाख १६ गते) पत्राचार गरेर ९ बुँदे सुधारका सुझाव दिइएको थियो ।

फोहोरको रेकर्ड राख्न, बिनहरुमा लेभल राख्न, फोहोर वर्गीकरण गर्न, बिसर्जन पूर्व संक्रमण भएको फोहोरलाई अटोक्लेभ गरेर संक्रमणरहित बनाउन, वातावरणीय अध्ययन गर्न त्यसबेला दिइएका सुझाव थिए ।

अनुगमनमा क्रममा प्रमुख प्रशासकीय अधिकृत परियारले भने,”स्वास्थ्य संस्थाजन्य हानीकारक फोहोरले मानव तथा प्राणी स्वास्थ्य र वातावरणमा प्रत्यक्ष नकारात्मक असर पार्छ । यसकारण अस्पतालबाट निस्कने हानीकारक फोहोर व्यवस्थापनमा सानातिना त्रुटि पनि स्वीकारिँदैन ।”

अनुगमनका क्रममा फोहोर उत्पादन हुने वाडहरू, ढुवानी हुने मार्ग, भण्डारण तथा अटोक्लेभ गरिने ठाउँ, तरल फोहोर प्रशोधनका लागि बनाइएको प्रणाली, फोहोरमा काम गर्ने जनशक्तिको स्वच्छता सम्बन्धी आचरणहरू हेरिएकाे महानगरले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !