१२ श्रावण २०८१, शनिबार

सुन बिक्री कोटामा घोटाला भएको आशङ्कामा अनुसन्धान सुरू

प्रकाशित मिति :  22 February, 2024 11:47 am


काठमाडौँ । सुन बिक्री कोटाको बिक्रीमा घोटाला भएको आवाज उठेसँगै सरकारले छानविन अगाडि बढाएको छ ।

सरकारले वाणिज्य बैंकहरूमार्फत दैनिक २० किलो सुन बिक्री गर्दै आएको छ । उक्त सुन नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल रत्न तथा आभूषण महासंघको सिफारिसमा व्यवसायीलाई उपलब्ध गराउने गरिएको छ ।

सुनको कोटा दुरुपयोग गरेर राजस्व छली भइरहेको आशंकामा राजस्व अनुसन्धान विभागले छानबिन अगाडि बढाएको खुलेको छ । विभागले नेपाल सुनचाँदी व्यवसायी महासंघलाई पछिल्लो तीन आर्थिक वर्षमा व्यवसायीलाई सिफारिस भएको सुनको परिमाण माग गर्दै पत्र काटेको छ ।

विभागले महासंघसँग आर्थिक वर्ष २०७७/०७८, २०७८/०७९ र २०७९/०८० मा के कति परिमाण सुन कुन कुन व्यवसायीलाई सिफारिस गरेको छ सा ेको विवरण विभागको अनुसन्धान शाखामा उपलब्ध गरादिन भन्दै पत्राचार गरेको थियो ।

सुनचाँदीको बिक्रीमा गैरकानुनी रुपमा आर्जन भएको सम्पत्ति प्रयोगका साथै राजस्व छलीको आशङ्का विभागले गरेको छ । कोटा प्रणाली अनुसार सुन नेपाल सुनचाँदी व्यवसायी महासंघले ५० प्रतिशत, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले ४५ प्रतिशत र ५ प्रतिशत सुन नेपाल हस्तकला महासंघले पाउँछ । वाणिज्य बैंकमार्फत यसरी प्राप्त हुने रकम महासंघको सिफारिसमा खुद्रा व्यवसायीलाई दिइने गरिएको छ । तर नक्कली कम्पनी खडा गरेर सुनको दुरुपयोग हुने गरेको आरोप लाग्दै आएको छ ।

रत्न तथा आभुषण संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र गुप्ताले त सार्वजनिक रुपमै ‘फर्जी कम्पनी दर्ता गरेर सुनको कोटा दुरुपयोग भएको’ भनिरहेका छन् ।

ह्वाट्सएप ग्रुपमा समेत वरिष्ठ उपाध्यक्ष गुप्ताले यस विषयमा आवाज उठाएपछि विवाद सतहमा आएको हो । यस विषयलाई लिएर अध्यक्ष सुमन ताम्राकारले आफूलाई राजीनामा गर्न भनेको गुप्ताले दाबी गर्दै आएका छन् ।

विदेशी मुद्राको दबाबको कारण सुन आयातमा कोटा छ । सोही कोटाको फाइदा उठाउँदै फर्जी कम्पनी दर्ता गरेर सुनको कारोबार भइरहेको र वास्तविक खुद्रा व्यवसायी मारमा परेको संघका वरिष्ठ उपाध्यक्ष गुप्ताको आरोप छ ।

उनले भने,“फर्जी कम्पनी दर्ता गरेर सुनको कालोबजारी व्यापार रोक्न आवाज उठाएको हुँ । बेथितीका कुरा संघ भित्र राख्नुपर्नेमा ह्वाट्सएपमा उठाएको भन्दै अध्यक्ष ज्यूले राजीनामा माग्नु भएकाे छ तर यो विषय म भण्डाफोर गरेरै छोड्छु ।”



प्रतिक्रिया दिनुहोस !