२६ बैशाख २०८१, बुधबार

भीरकोटमा नगरप्रमुख–लेखक जुहारी, पालिकाको लेटरहेड प्रयोग गरी व्यक्तिलाई ‘थर्काइदै’

प्रकाशित मिति :  27 February, 2024 6:31 pm


काठमाडौँ । स्याङ्जाको भीरकोट नगरपालिका र केही व्यक्तिबिच द्वन्द्व चलेको छ । नगरपालिकाका कयौँ विकासका काम थन्क्याएर जनप्रतिनिधी केही व्यक्तिसँग समाजिक सञ्जालमा भनाभनमा उत्रिएका हुन्।

सामाजिक सञ्जालमा आलाेचना गर्ने व्यक्तिलाई ‘थर्काउने मनसाय’ले भीरकोट नगरपालिकाको लेटर हेड नै प्रयोग गरिएकाे पाइएकाे छ। पालिकाका प्रवक्ता एंव वडा नम्बर १ का वडा अध्यक्ष दिपेन्द्र के.सी. द्वारा हस्ताक्षरित सार्वजनिक पत्रमा सामाजिक सञ्जालमा आएकाे पत्रमा भ्रत्सना गरेकाे जनाइएकाे छ ।

यसरी सुरू भयाे विवादः

भीरकोट नगरपालिकाको आउँदो फागुन २२ गते बालमैत्री दिवस मनाउँदै छ। २०७७ फागुन २२ गते भीरकोट नगरपालिकालाई बालमैत्री स्थानीय तह घोषणा गरिएको थियो। आर्थिक वर्ष २०८०/०८१ मा सबै वडाले बालमैत्री स्थानीय शासनलाई प्रभावकारी बनाउन वडास्तरीय कार्यक्रम गरिरहेका छन्।

यसै क्रममा वडा नम्बर ६ ले बालोदय माध्यमिक विद्यालयमा वडा स्तरीय बृहत बालमैत्री प्रतियोगिताको आयोजना गरेको थियो । जसको प्रमुख अतिथि रूपमा नगरप्रमुख गोविन्द कर्मचार्यलाई बोलाइएको थियो भने उपप्रमुख भगवती रेग्मी अर्याल, नगर बालमैत्री सहजकर्ता विष्णुमाया काफ्लेलाई वडाले निमन्त्रणा गरेको थियो । कार्यक्रममा निर्णायकको रूपमा डा. तुलसी राम खनाल, दहथुम क्याम्पस प्रमुख नेत्रनारायण रेग्मी र रेडियो आँधिखोलाकी समाचार प्रमुख कला राना थिए।

कार्यक्रम सुरू भएको केही समयपछि नगरप्रमुख कर्माचार्यले पूर्वनिर्धारित कुनै महत्त्वपूर्ण कार्यक्रममा जानैपर्ने भएको भन्दै उपस्थित विद्यार्थीहरूलाई सम्बोधन गर्दै हताहतारमा बाहिरिए। तर नगर प्रमुख चापाकोट महोसत्वमा पुगेको फोटो र भिडियो बाहिरिएपछि सामाजिक संजालमा चर्को आलोचना भएको थियो। बालमैत्री स्थानीय शासन लागू भएको नगरपालिकाका मेयर बालबालिकाको कार्यक्रमलाई भन्दा चापाकोटको रमाइलोलाई महत्त्व दिएको भन्दै निर्णायक मध्येकै एक डा. खनालले सामाजिक संजालमा आलोचना गरेका थिए।

नगरप्रमुखले ‘ढाँटेपछि’ समस्या

कार्यक्रम आयोजकको रूपमा रहेको वडा नम्बर ६ का अनुसार नगरप्रमुखले आफ्नो कार्यव्यस्तताका कारण कार्यक्रममा दुई घण्टा मात्रा बस्न सक्ने भनेर कार्यक्रममको प्रमुख अतिथि बनेको स्विकार गरेका थिए ।

तर यता कार्यक्रम सुरू हुदैँ गर्दा नगरप्रमुख, नगर उपप्रमख, लगायत केही वडा अध्यक्ष पालिकामा विद्यार्थीको प्रस्तुतीलाई महत्त्व नदिइ , जनप्रतिनिधिसँग बालबालिकाको कार्यक्रमलाई लत्याएर कार्यव्यस्ताको कारण देखाउँदै चापकोटमा आयोजना भएको मेला महोत्सवको भालिबल प्रतियोगिता हेर्न पुगेका पाइयो ।

भीरकोट नगरपालिका वडा नम्बर ६ को स्रोतले भन्यो, “मेयर साबले चापकोट जाने केही पनि कुरा गर्नु भएको थिएन । उहाँले दुई घन्टाको मात्रा समय कार्यक्रममा दिन सक्छु र बाकीँ समय मेरो कार्यव्यस्ताले बस्न सक्दिन भन्नु भएको थियो ।”

सोही विषयलाई लिएर गत शुक्रबारदेखि पालिकाभित्र एक अर्कोबिच आक्षेप लगाउन सुरू भएको हो । स्याङ्जाका अधिकांश पालिकाका स्थानीय पाठ्यक्रम तयार पारेका डा . तुलसी राम खनाललाई पालिकाले मुख्य केन्द्रबिन्दु बनाएर एक आपसमा भिडेको छन् ।

उक्त विषयलाई लिएर खनालले आफ्नो सामाजिक संञ्जालमा लेखेको विषयलाई लिएर नगरप्रमुख कर्माचार्यले अध्यक्ष खनाललाई पालिकासँग पुस्तक छाप्नको लागि पैसा मागेको र केही आर्थिक समस्याका कारणसहयोग गर्न नसक्ने भएपछि खनालले सामाजिक संञ्जालमा विभिन्न कुरा लेख्दै विरोध गरेको आरोप लगाएका छन् । उनले संचार माध्यममा दिएको अडियो अन्तर्वार्तामा समेत डा. खनाललाई अनादरवाची शब्दहरू प्रयोग गरिएको छ ।

https://www.facebook.com/dhanprasad.pandey.31/videos/1075486650402629

यता खनालले आफ्नो गल्ती लुकाउन नगरप्रमुखले झुट बोलेको दाबी गरेको छन् । उनले सामाजिक संञ्जालमा लेखेका छन्, “चापाकोटको महोत्सवमा स्टेज नै नचढेको रे उहाँ । फोटोमा गमक्क बसेको उहाँ नै हो अर्को कुरा उहाँसँग मैले काम मागेँ रे त्यो पनि स्थानीय पाठ्यक्रमको । सबैलाई स्मरण रहोस् भीरकोटको स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तकको काम मैले अघिल्लो मेयरको कार्यकालमा सम्पन्न भएर पढाइ भैरहेको छ ।”

यो विषय यतिमा मात्रा सिमित रहँदैन् उक्त विषयलाई लिएर नगरप्रमुखले आफूलाई चापाकोट नगरपालिकाले निमन्त्रणा गरेर जानुपरेको कुरा दाबी गर्दै आएका छन् । सोही विषयलाई लिएर हिजाे (साेमबार) पालिकामा ठूलो छलफल भएको र जसमा केही वडाका वडा अध्यक्षहरूको समेत सहभागिता रहेको स्रोतले जनाएको छ ।

पालिकाले हिजाे (सोमबार) पालिका विरुद्ध भ्रामक टिकाटिप्पणी गरेको भन्दै नगरपालिकाका प्रवक्ता एंव वडा नम्बर १ का वडा अध्यक्ष केसीकाे हस्ताक्षरमा भीरकोट नगरपालिको विषयमा सामाजिक सञ्जाल (फेसबुक) मा नगर प्रमुख गोविन्द कुमार कर्माचार्यको र नगरपालिकाको विषयमा भए गरेका टिकाटिप्पणी प्रति भीरकोट नगरपालिकाको गम्भीर ध्यानाकर्षण गराइएको छ ।

ध्यानाकर्षण पत्रमा भनिएको छ, “बौद्धिक व्यक्तित्व भनाउँदाले भीरकोटको शान र गौरवको रुपमा रहनु भएका प्रमुखको व्यक्तिगत जीवन, उहाँको सामाजिक प्रतिष्ठा, राजनैतिक उचाईलाई समेत नजर अन्दाज गरी पेशा व्यवसाय र सम्पूर्ण भीरकोटका जनताप्रति देखाइएको अपमानजनक शब्द र वाक्यांशले हामी र हाम्रा मतदाता, शुभचिन्तक र सिङ्गो नगरपालिका अत्यन्त मर्माहित हुन पुगेको छ । जो व्यक्ति आज समाज भन्दा पर सामाजिक दायित्वबाट भागेकाले धमिलो पानीमा माछा मार्ने प्रपञ्च रचिरहेको घामजस्तै छर्लङ्ग भएको छ । विगत वर्षमा झै नगरपालिकाबाट सेवा र सुविधा लिने दिवा सपना देखेका बौद्धिक भनौदा व्यक्ति हाल उक्त क्रियाकलापबाट लाभ लिन नसकेपछि तिलमिलायर आवेगमा सामाजिक संजालमा गरिएको टिकाटिप्पणी प्रति हामी सम्पूर्ण जनप्रतिनिधिले घोर भर्त्सना सहित खेद प्रकट गर्दछौं ।”



प्रतिक्रिया दिनुहोस !