७ जेष्ठ २०८१, सोमबार

कुसारीको अध्यक्षतामा नेपाल कुस्ती संघमा सर्वसम्मत नेतृत्व चयन

प्रकाशित मिति :  18 March, 2024 8:11 am


काठमाडौँ। प्रकाशकुमार कुसारीको अध्यक्षतामा आगामी पाँच वर्षका लागि नेपाल कुस्ती संघको नयाँ नेतृत्व चयन भएको छ ।

आईतवार लाजिम्पाटमा सम्पन्न संघका साधारणसभा तथा निर्वाचनले कुसारीको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको हो ।

कुसारी राष्ट्रिय खेलकुद परिषद् (राखेप) का बोर्डसदस्यसमेत हुन्। संघको कुल २७ सदस्यीय कार्यसमिति रहनेछ भने बाँकी १२ पदमा पछि मनोनित गरिने नवनिर्वाचित अध्यक्ष कुसारीले जानकारी दिए।

संघको उपाध्यक्षमा निर्मल सिग्देल, मुकेश साह र सूर्यन्सकुमार चौधरी तथा महासचिवमा खगेन्द्रबहादुर बस्नेत निर्वाचित भएका छन्।

संघको विधानअनुसार वरिष्ठसहित कम्तीमा एक महिला गरी पाँच उपाध्यक्ष रहने व्यवस्था छ । संघको पहिलो कार्यसमिति बैठकले महिला उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष मनोनित गर्ने भएको छ ।

उपमहासचिवमा चितवनका साजन अधिकारी सर्वसम्मत चयन हुनुभएको छ । कार्यसमितिले थप एक जना उपमहासचिव मनोनित गर्न पाउने व्यवस्था छ । सचिवमा सरोज कटुवाल र सूर्यनारायण साह तथा कोषध्यक्षमा विपुल पौडेल निर्वाचित भएका छन् ।

यो कार्यसमितिमा थप तीन जना सचिव नियुक्त हुनेछन् । साधारण सभा र निर्वाचनले संघको सदस्यहरूमा ऐटन मल्ल, सुदीप केसी, अनित न्यौपाने, उपेन्द्र श्रेष्ठ, विक्रमसागर पोख्रेल र लक्ष्मी उराउलाई सर्वसम्मत निर्वाचित गरेको छ ।

नयाँ कार्यसमितिको बैठकले थप ६ जना सदस्य मनोनित गर्न पाउने व्यवस्था रहेको छ । त्यसअघि उक्त साधारणसभाको राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्यसचिव टंकलाल घिसिङ, सदस्य अन्जन धमला, नेपाल ओलम्पिक कमिटीका उपमहासचिव पिताम्बर तिम्सिना र नेपाली राष्ट्रिय कुस्ती टोलीका वरिष्ठ प्रशिक्षक मुमताज अलीको उपस्थितिमा उद्घाटन भएको थियो ।

निर्वाचित कार्यसमितिलाई राष्ट्रिय खेलकुद परिषद्का कानून शाखा प्रमुख तथा निर्वाचन समितिका संयोजक नारायणराज अर्यालले पद तथा गोपिनियताको शपथ राउनुभएको थियो । अर्यालको नेतृत्वमा रहेको निर्वाचन समितिको सदस्यमा राखेपका अधिकृतद्वय चन्द्रकुमार राई र ओमनाथ न्यौपाने, अधिवक्ताद्वय प्रदीप सापकोटा र सन्तोष आचार्य थिए ।

अध्यक्ष पदमा निर्वाचित भएसँगै कुसारीले देशका हरेक कुनाबाट खेलाडी उत्पादनसँगै प्रशिक्षक र निर्णायकको अभिवृद्धि लगायतमा आगामी चार वर्ष यो नेतृत्वले काम गर्ने संकल्प व्यक्त गर्नुभएको छ ।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !