८ जेष्ठ २०८१, मंगलबार

क्रिकेट विकासमा मद्दत गर्न नेपाल आएँ– आइसिसी अध्यक्ष बार्कले

प्रकाशित मिति :  19 March, 2024 6:30 am


काठमाडौँ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का अध्यक्ष ग्रेग बार्कलेले क्रिकेट विकासमा मद्दत पुगोस् भन्ने उद्देश्यले नेपाल भ्रमण आएको बताएका छन्।

सोमवार भारतको नयाँ दिल्लीबाट उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका थिए। उनलाई नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंह र सचिव पारस खड्कालगायतले स्वागत गरे।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले पत्रकारसँगको कुराकानीका क्रममा नेपालको क्रिकेटबारे बुझ्ने र यहाँको क्रिकेट खेल विकास होस् भन्ने भ्रमणको उद्देश्य रहेको बताए।

तीन दिने भ्रमणका क्रममा बार्कलेले नेपाली क्रिकेटको संरचनाबारे पनि निरीक्षण गर्ने जानकारी दिए। उनले कीर्तिपुरस्थित त्रिवि र मुलपानी क्रिकेट मैदानको अवलोकन गर्ने कार्यक्रम तय भएको छ।

नेपाल उत्कृष्ट एसोसिएट राष्ट्रमध्ये एक रहेको उल्लेख गर्दै उनले नेपाली क्रिकेटको भविष्य राम्रो रहेको धारणा पनि राखे । नेपालमा क्रिकेट लोकप्रिय रहेको र अभैm क्रिकेटकै साथमा रहन उनले समर्थकलाई आग्रह गरे।

यससँगै प्रधानमन्त्री, अर्थमन्त्री र युवा तथा खेलकुद मन्त्रीसँग क्रिकेटलाई सहयोग, आर्थिक पक्षका अवसर तथा खेलकुद नीतिबारे छलफल हुनेछ ।

लामो समय न्युजिल्याण्ड क्रिकेट बोर्डको नेतृत्व गरेका बार्कले सन् २०२० मा आइसिसीको अध्यक्ष बनेका हुन्।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !