१८ बैशाख २०८१, मंगलबार

आठौं संस्करणको ‘विराट गोल्डकप’ चैत १५ गतेबाट

प्रकाशित मिति :  19 March, 2024 7:12 pm


काठमाडौँ । ‘विराट गोल्डकप’ को आठौं संस्करण यही चैत १५ गतेबाट सुरू हुने भएको छ ।

विराटनगरको शहीद रंगशालामा चैत १५ गतेबाट गोल्डकप हुन लागेको हो । मंगलवार विराटनगरमा पत्रकार सम्मेलन गरी आयोजक विराट गोल्डकप फुटबल ट्रस्टले हाल प्रतियोगिताकोे सम्पूर्ण पूर्वतयारी अन्तिम चरणमा पुगिसकेको जनाएको छ ।

आयोजकको यस वर्षको गोल्डकपमा नेपाल, भारत र भूटानका गरी कुल १० वटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार गोल्डकपमा भारतबाट २, भूटानबाट १ र नेपालका विभागीयसहित कुल ७ टिमको सहभागिता रहनेछ । आठौं संस्करणको विराट गोल्डकपको विजेता र उप–विजेताले पाउने नगद पुुरस्कारको राशी भने आधा घटाइएको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार गतवर्षको गोल्डकपमा भएको घाटालाई दृष्टिगत गर्दै यसवर्षको पुरस्कार राशी घटाइएको हो । गतवर्ष प्रतियोगिताको विजेता र उप–विजेताले क्रमशः २० लाख ५१ हजार र १० लाख ५१ हजार नगद पुरस्कार प्राप्त गरेकोमा यसपटक विजेताले ११ लाख र उप–विजेताले ५ लाख ५० हजार रुपैयाँ मात्र प्राप्त गर्नेछन् ।

गोल्डकप सञ्चालनको सम्पूर्ण पूर्र्वतयारी अन्तिम चरणमा पुगिसकेको जानकारी दिँदै आयोजकले गोल्डकप सञ्चालनका लागि कुल १ करोड १८ लाख ४३ हजार रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।

चैत्र १५ देखि २५ गतेसम्म कुल १० दिन सञ्चालन हुने गोल्डकपको उत्कृष्ट प्रशिक्षक, गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही रु। २१ हजार, म्यान अफ द म्याचलाई ११ हजार तथा सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाईकल पुरस्कार दिने व्यवस्था आयोजकको छ ।

आयोजकका अनुसार यसवर्षको फुटबल प्रतियोगितालाई भने कोशी प्रदेश सरकारले २५ लाख, विराटनगर महानगरपालिकाले १२ लाख र राष्ट्रिय खेलकुल परिषद्ले ५ लाख नगद सहयोग गर्ने भएकोे छ ।



प्रतिक्रिया दिनुहोस !