१६ बैशाख २०८१, आइतबार

चालु आर्थिक वर्षको राजश्व दोब्बर बनाउन मातहतका निकायलाई अर्थमन्त्री पुनको निर्देशन

प्रकाशित मिति :  21 March, 2024 3:36 pm


काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षको राजश्व दोब्बर बनाउन मातहतका निकायहरूलाई निर्देशन दिएका छन् । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

अर्थमन्त्री पुनले राजश्व वृद्धिका लागि भन्सारको चुहावट रोक्ने कार्ययोजना बनाएको पनि बताए । उनले भन्सार नाकामा समस्याहरू रहेको स्वीकार गर्दै भन्सार बिन्दुमा नै सुधार ल्याउने गरी काम गरिरहेको पनि बताए । उनले सबैले अर्को महिनादेखि भन्सारमा सुधार भएको महसुस गर्ने अवस्था आउने दाबी गरे ।

अर्थमन्त्री पुनले आन्तरिक राजश्व सङ्कलनमा पनि सुधार र परिवर्तन ल्याउने प्रतिबद्धता जनाए । ४० प्रतिशतभन्दा बढी राजश्व वृद्धिको लक्ष्य भएपनि ९ प्रतिशतको हाराहारीमा मात्रै वृद्धि देखिएको उनले बताए । उनले नेपाल दुई ठूला अर्थतन्त्र भएका देशको बीचमा रहेकाले करिब १७ सय किलोमिटर खुला बोर्डर रहेको बताए । खुला नाका भएकाले पनि भन्सारमा समस्या आइरहेको उनले धारण राखे । भन्सारका समस्या मान्छेको नियत भन्दा पनि क्षमता नपुगेको अर्थमन्त्रीको दाबी थियो ।

उनले भने,”भन्सारको चुहावट रोक्ने कार्ययोजना बनाएका छौँ । यहाँहरूले अर्को महिनादेखि नै भन्सार बिन्दुमा नै आँकडामा सुधार गरेको देख्नुहुनेछ । आन्तरिक राजश्व सङ्कलनमा पनि सुधार र परिवर्तन ल्याउने छौँ । ४० प्रतिशत भन्दा बढी राजश्व वृद्धिको लक्ष्य छ । तर ९ प्रतिशतको हाराहारीमा मात्रै वृद्धि देखिएको छ । यसलाई दोब्बर गर्नेगरी लाग्न निर्देशन दिएको छु । कहाँ समस्या छन् । यसमा पनि अहिलेको भन्दा सुधार गर्छौँ ।”

अर्थमन्त्री पुनले सरकारको संरक्षण कम भएपनि कृषिलाई सरकारले संरक्षण गर्नुपर्ने देखिएको बताए । उनले नेपालमा भारतले झैँ कृषिलाई संरक्षण गर्न नसकिएको बताए । हरेक वर्ष ६० अर्ब बराबरको मल किसानलाई अनुदान दिनुलाई सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिएको बुझ्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !