१८ बैशाख २०८१, मंगलबार

शनिवार राइट टु प्रोटिन रन हुँदै, कार्यक्रमको तयारी पूरा

प्रकाशित मिति :  22 March, 2024 7:48 am


काठमाडौँ। नेपाल भेटेरिनरी एशोसिएशनको आयोजनामा आगामी शनिवार हुने राइट टु प्रोटिन रनको तयारी पूरा भएको छ ।
आगामी शनिवार राइट टु प्रोटिन नामक म्याराथनसहित विभिन्न विधामा दौड हुँदैछ ।

बिहीवार भेटेरिनरी एशोसिएशनले काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो । साथै उक्त एक दिने प्रतियोगिताका विभिन्न विधामा प्रतिष्पर्धा गर्ने खेलाडी संख्यामा पनि टुङ्गो लागेको आयोजकले जनाएको छ।

दशरथ रंगशालामा हुने प्रतिष्पर्धामा कुल सात हजार दुई जनाको सहभागिता पक्का भएको आयोजकको दाबी छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सो कार्यक्रमको उद्घाटन गर्नेछन्।

प्रतियोगितामा हाफ म्याराथनतर्फ महिला (१८२ जना) र पुरुष (१२६६ जना) ले प्रतिष्पर्धा गर्ने भएका छन् । १० किलोमिटरमा पुरुषतर्फ तीन हजार ८१ जना र पाँच किलोमिटरमा महिलातर्फ एक हजार एक सय ६६ जनाको सहभागिता पक्का भएको छ।

पुरुष पाँच किलोमिटर दौड (१२ कक्षामा अध्ययनरत) मा सात सय ९२ जना र तीन किलोमिटर महिला (१२ कक्षामा अध्ययनरत) चार सय ७२ जनाको चुनौति रहनेछ ।

ह्विलचियरमा पुरुषमा ४० र महिला २० जनाले प्रतिष्पर्धा गर्नेछन् । आयोजकका अनुसार दुई सय ६८ जना किन्डरगार्टेन विद्यार्थीको पनि सहभागिता हुने भएको छ ।

गत दुई वर्षदेखि आयोजना भएको राइट टु प्रोटिन रनमा महिला हाफ म्याराथनमा पूmलमति राना र पुरुषमा दीपक अधिकारी पहिलो भएका थिए ।

यस पटक हाफ म्याराथनको विजेताले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् भने पाँचौं स्थानसम्म प्राप्त गर्ने खेलाडीले नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !