२४ बैशाख २०८१, सोमबार

‘सि’ डिभिजन लिग शुरु, आरसी ३२ को विजयी शुरुवात

प्रकाशित मिति :  5 April, 2024 8:37 am


काठमाडौँ। सुर्खेतको आरसी ३२ फुटबल एकेडेमीले यस सिजनको शहीद स्मारक ‘सि’ डिभिजन लिगमा सुखद् शुरुवात गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीवार भएको उद्घाटन खेलमा आरसी–३२ ले खालीबारी युवा फुटबल क्लवमाथि १–० को जितसँगै यस सिजनको ‘सी’ डिभिजनमा सुखद् शुरुवात गरेका हुन् ।

स्ट्राइकर बबिन बोहोरोको गोल नै आरसी–३२ को जितका लागि निर्णायक बन्यो । सुर्खेतको आरसी ३२ गत सिजन पनि ‘बी’ डिभिजनमा उक्लिनबाट दुई अंकले चुकेको थियो । यस सिजन पनि खालीबारीलाई हराउँदै राम्रो संकेत गरेको छ ।

आरसी ३२ ले खेलको २२ औं मिनेटमा अग्रता लिएको थियो । पेनाल्टी बक्सको बायाँ भागबाट किस्मत लिम्बुले दिएको बललाई बबिनले वान टच गर्दै गोल गरेका हुन् । खालीबारीका गोलकिपर मनोज तामाङले बबिन प्रहार रोक्ने प्रयास गरे पनि सफल हुन सकेन ।

त्यसको दुई मिनेटपछि नै खालीबारीको खेलमा फर्कन प्रयास सफल भएन । खालीबारीको आक्रमणलाई आरसी ३२ गोलकिपरले उत्कृष्ट बचाउँदै गर्दै आफ्नो टोलीको अग्रता जोगाए । दोस्रो हाफमा दुवैतर्पm प्रयास भएपनि गोल सम्भवन भएन र रोहित चन्दको क्लव आरसी ३२ ले संघर्षपूर्ण जित निकाल्यो ।

यो जितसँगै राष्ट्रिय टोलीका मिडफिल्डर रोहन कार्कीको नेतृत्वमा रहेको आरसी ३२ यस पटक ‘बी’ डिभिजनमा बढुवा हुने संकेत गरेको छ । सिंगल राउण्ड रोबिनका आधारमा हुने ‘सि’ डिभिजन लिगमा कुल १४ क्लवले प्रतिष्पर्धा गरिरहेका छन् ।

लिगका अधिकांश खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछन् । च्यासल र दशरथ रंगशालालाई भने वैकल्पिक मैदानका रूपमा तय गरिएको छ । लिगमा कुल ९१ खेलहरू हुनेछन् ।

लिगको विजेताले १० लाख, उपविजेताले सात लाख र तेस्रो हुने क्लवले पाँच लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । लिगका उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले ३५ हजार रुपैयाँ पाउने भएका छन् ।

उत्कृष्ट खेलाडीलाई भने ५० हजार रुपैयाँ प्रदान गरिनेछ । प्लेयर अफ दी म्याचले पाँच हजार रुपैयाँ पाउने एन्फाले जनाएको छ ।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !