१७ बैशाख २०८१, सोमबार

आइओएफटिसी नेपाल २०२४ स्थापना

प्रकाशित मिति :  16 April, 2024 8:11 am


काठमाडौँ। लामो समयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्दैै नेपालमा तेक्वान्दो खेल विकासमा योगदान पु¥याएको आइओएफटिसीले आइओएफटिसी नेपाल २०२४ स्थापना गरेको छ ।

सोमवार ललितपुरमा एक कार्यक्रम आयोजना गर्दै आइओएफटिसीले आइओएफटिसी नेपाल २०२४ लाई पूर्णता दिएको हो । अमेरिकास्थित पोर्टल्याण्डमा मुख्यालय रहेको इन्टरनेसनल ओपन फ्रेण्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) ले प्रभावकारी रूपमा नेपालमा काम गर्न आइओएफटिसी नेपाल स्थापना गरेको जनाएको छ ।

आइओएफटिसी प्रधान कार्यालयका संस्थापक तथा निर्देशक ग्रान्डमास्टर दिवाकर महर्जनले आइओएफटिसी नेपाल २०२४ टिमका पदाधिकारी तथा सदस्यलाई स्वागत बधाइ तथा सफल कार्यकालको शुभकामना पनि दिए ।

आइओएफटिस नेपालको अध्यक्षमा मीनप्रसाद खनाललाई जिम्मेवारी प्रदान गरेको छ । उपाध्यक्षमा राजमन्दिर श्रेष्ठ, सचिवमा गिरीबहादुर सुनार र कोषाध्यक्षमा रिकेश महर्जन छन् ।

सदस्यहरूमा सहदेव श्रेष्ठ, शिलकुमारी महर्जन र भवानी बजगाईंलाई जिम्मेवारी प्रदान गरिएको छ । ग्रान्डमास्टर महर्जनले नयाँ टिमलाई शुभकामना दिँदै आइओएफटिसी नेपालले खेलक्षेत्र तथा खेल पर्यटन प्रवद्र्धनसँगै, कलासंस्कृतिको जगेर्ना र उत्थानमा काम गर्ने उद्देश्य रहेको बताए ।

आइओएफटिसी नेपालले प्रमुख रूपमा इन्टरनेसनल ओपन फ्रेण्डसीप तेक्वान्दो च्याम्पियनसिप नेपालमा आयोजना हुँदा अथवा सो प्रतियोगिता नेपालबाहिर हुँदा नेपालमा हुने छनोट प्रतियोगितामा आयोजकको भूमिका निर्वाह पनि गर्नेछ ।

सोही कार्यक्रममा आइओएफटिसी संस्थापक तथा निर्देशक ग्रान्डमास्टर दिवाकरले नेपालमा प्रतियोगिता आयोजना गर्नका लागि आवश्यक पर्ने खेलसामाग्री पनि आइओएफटिसी नेपाल २०२४ लाई प्रदान गरेको छ । आइओएफटिसी नेपालले नै प्रतियोगिता आयोजना गर्नका लागि सो सामाग्री प्रदान गर्ने उल्लेख गरिएको छ ।

आइओएफटिसीकै सहयोगमा आइतबार मात्र चौथो राष्ट्रिय फ्रेण्डसिप खुला तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको थियो । सोही प्रतियोगिताबाट ६ जना खेलाडी दक्षिण कोरियामा हुने इन्टरनेसनल ओपन फ्रेण्डसिप तेक्वान्दो च्याम्पियनसिपको १४औं संस्करणका लागि छनोट भएका छन् ।

ग्योरोगीमा चार र पुम्सेमा दुई गरी कुल ६ खेलाडीले आगामी अगस्ट २३ र २४ मा आयोजना हुने च्याम्पियनसिपमा स्थान बनाएका छन् ।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !