२० बैशाख २०८१, बिहिबार

नेपालले युएईलाई दियो १२० रनको लक्ष्य

प्रकाशित मिति :  19 April, 2024 1:41 pm


काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा शुक्रबार नेपालले यूएईलाई जितका लागि एक सय २० रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ११९ रन मात्र जोड्यो। नेपालका लागि सन्दीप जोराले सर्वाधिक ५० रनको अर्धशतकीय पारी खेले। ३० बलको सामना गरेका उनले चार चौका र दुई छक्का हिर्काए।

त्यसबाहेक करण केसीले १७ रन बनाएर आउट हुँदा गुल्सन झाले २० रन बनाए। त्यसबाहेक कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

ओपनर कुशल भुर्तेल पहिलो बलमा आउट हुँदा आशिफ शेखर रोहित पौडेल क्रमशः ८ र ५ रन बनाएर पेभेलिएन फर्किए।

त्यसपछि आएका सन्दीप जोराले पारीलाई केही सम्हाले पनि अन्त्य सुखद् हुन सकेन। कुशल मल्ल ३, दीपेन्द्रसिंह ऐरी ५, सोमपाल कामी २ रनमा आउट हुँदा अभिनास बोहरा र ललित राजवंशी क्रमशः १ र २ रन बनाएर अविजित रहे।

यूएईका जुदैन सिद्दिक, बसील हमीद र अली नसीरले समान दुई–दुई विकेट लिँदा ओमिद साफी रहमान, आयान अफ्जल खान र मोहम्मद फारुकले समान एक–एक विकेट लिए ।



प्रतिक्रिया दिनुहोस !