३१ बैशाख २०८१, सोमबार

वेस्ट इण्डिज ‘ए’ सँग नेपाल १० रनले पराजित

प्रकाशित मिति :  28 April, 2024 6:29 pm


काठमाडौँ । शिर्ष क्रमको ब्याटिङ चल्न नसक्दा नेपालले आइतबार वेस्ट इण्डिज ‘ए’ सँगको दोस्रो ट्वान्टी–२० खेलमा १० रनले हार व्यहोरेको छ । यससँगै पाँच खेलको श्रृंखलामा वेस्ट इण्डिज ‘ए’ ले १–१ को बराबरी गर्‍यो ।

त्रिवि क्रिकेट मैदानमा १६१ रनको लक्ष्य पछ्याएको नेपालले २० औं ओभरमा १५० रन मात्र बनाउन सक्यो । कप्तान रोहितकुमार पौडेलले अविजित ७० रनको अर्धशतकीय इनिङ खेले पनि जित दिलाउन सकेनन् । उनले ४८ बलमा ६ चौका र दुई छक्का हिर्काए ।

ओपनर लोकेश बमले १६ रन जोड्दा मध्य क्रमका ब्याटर गुल्सन झाले २६ रन बनाए । त्यसअघि नेपालको शुरुवात राम्रो हुन सकेन । पावर प्लेमा चार विकेट गुमाउँदा नेपालले २८ रन मात्र जोड्यो । यस क्रममा ओपनर लोकेशसहित ओपनर कुशल भुर्तेल २ रन, अनिल साह १ रन र कुशल मल्ल खाता नखोल्दै आउट भए । तर त्यसपछि कप्तान रोहितले पाँचौं विकेटका लागि गुल्सनसँग ३३ रन र छैटौं विकेटका लागि ओरिफ सेखसँग ४३ रनको साझेदारी गरे ।

१५ औं ओभरमा आरिफ १२ रनमा आउट भए । त्यसपछिका ब्याटरले साथ नदिँदा नेपालले हार व्यहो¥यो । दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी समान ३ रनमा आउट हुँदा आकाश चन्दले ७ रन जोडे । नेपालले अन्तिम दुई ओभरमा ३९ रन व्यहोरेको थियो । यता नेपाललाई अन्तिम दुई ओभरमा २६ रन आवश्यक थियो । तर पाहुना टोलीका बलरले कसिलो बलिङ गर्दै १५ रन मात्र दिए ।

वेस्ट इण्डिज ‘ए’ को बलिङमा ओबेद म्याककोए र गुडाकेस मोतीले समान दुई विकेट लिए । ओसाने थोमस र रोस्टन चेजको नाममा समान एक विकेट रह्यो । नेपालले तीन वटा विकेट रन आउटको रूपमा गुमायो । त्यसअघि टस जितेर ब्याटिङ गर्दै वेस्ट इण्डिज ‘ए’ ले निर्धारित ओभरमा सात विकेटको क्षतिमा १६० रन जोड्याे । नेपालले छिट्टै दुई विकेट लिँदै पाहुना टोलीको आक्रामण शैलीमा अंकुस लगायो । स्पिनर सागर ढकालले ओपरद्वय जोनसन चाल्र्सलाई ११ रन र एलिक अथानजे ६ रनमा आउट गरे ।

२.५ ओभरमा वेस्ट इन्डिज ‘ए’ १८\२ को अवस्था पुग्यो । त्यसपछि पाहुना टोली सम्हालिएर खेल्यो । आन्द्रे फ्लेचरले ४३ रन र कप्तान रोस्टन चेजले २३ रन जोड्दै इनिङ अगाडि बढाए । यी दुईबीच तेस्रो विकेटका लागि ४६ रनको साझेदारी बन्यो । दशौं ओभरमा कप्तान चेज आउट भए । कुशल भुर्तेलले उनलाई बोल्ड गर्दै ठूलो सफलता दिलाए । एक छेउबाट फ्लेचरले इनिङ अगाडि बढाए । तर अर्को छेउबाट विकेट पतन भयो । केसी क्यार्टी १० रन, किमो पउल ८ रन र हेडन वाल्स ९ रनमा आउट भए ।

१८ औं ओभरमा फ्लेचर पनि आउट भए । उनलाई दीपेन्द्रसिंहले लोकेश बमबाट क्याच आउट गराए । यससँगै १७.५ ओभरमा पाहुना टोली ११५\७ मा रहँदा सामान्य योगफलतर्फ अग्रसर भयो । यद्यपि अन्तिम दुई ओभरमा ३९ रन खर्चंदा नेपालका लागि महँगो बन्यो । यस क्रममा गुडाकेस मोतीले ८ बलमै ३३ रन जोड्दै राम्रो योगफलमा पुर्‍यो ।

उनले दुई चौका र चार छक्का प्रहार गरे । नेपालको बलिङमा सागर र कुशल भुर्तेलले समान दुई विकेट लिए । समान चार ओभरमा सागरले १९ रन र कुशलले २२ रन खर्चिए । सोमपाल र दीपेन्द्रसिंहले समान एक विकेट लिए पनि महँगा बने । कुशल मल्लले पनि चार ओभरमा किफायती बलिङ गरे पनि विकेट लिन भने सकेनन् । नेपालले अब तेस्रो खेल बुधवार खेल्नेछ ।



प्रतिक्रिया दिनुहोस !