४ जेष्ठ २०८१, शुक्रबार

इङ्ल्याण्डमा हुने फुटबलबाट सिक्नेछौं–कप्तान किरणकुमार लिम्बू

प्रकाशित मिति :  30 April, 2024 8:22 am


काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले करिव एक हप्ताको प्रशिक्षण बाबजुद इङ्ल्याण्डमा हुने मैत्रीपूर्ण खेलको तयारी राम्रो भएको बताएका छन् ।

नेपालले आगामी वैशाख २४ गते इङ्ल्याण्डको अल्डरसटमा तेस्रो डिभिजन क्लव स्टोक सिटीसँग खेल्दैछ । सोही खेलका लागि सोमवार भएको बिदाई कार्यक्रममा कप्तान लिम्बुले छोटो समयको तयारी रहे पनि राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरे ।

इङ्लिस टोलीसँगको खेलका लागि आफ्नो टोली उत्साहित रहेको उनले बताए । टोलीमा नयाँ खेलाडीको आगमनमा केही सकरात्मक पक्ष रहेको उल्लेख गर्दै ती खेलाडीले इङ्लिस फुटबलमा खेल्न पाउनु सुखद् पक्ष रहेको कप्तान लिम्बूको बुझाइ छ ।

नेपाली टोलीलाई सोमवार नेपालका लागि इङ्ल्याण्डका राजदुत रोब फेन, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलगायतले बिदाई गरेका थिए । बिदाई कार्यक्रममा कप्तान किरणले नेपाली टोलीमा अधिकांश खेलाडी नयाँ रहेकाले इङ्ल्याण्डको मैत्रीपूर्ण खेल ती खेलाडीका लागि राम्रो तयारी हुने आशा व्यक्त गरे । विश्वकप छनोटचरणको खेलका लागि नयाँ खेलाडीलाई एक्सपोजर आवश्यक रहेको कप्तान किरणले बताए ।

उनले यो युवा टोली अनुभवी बन्न समय लाग्ने उल्लेख गर । त्यसैले इङ्लिस टोलीसँग पिच सेयर गर्न पाउनुले पनि आत्मविश्वास बढ्ने उनको विश्वास छ । प्रशिक्षक र खेलाडीले पनि इङ्लिस टोलीकोबारे बुझिरहेको र उनीहरू शारीरिक रूपमा निकै बलियो रहे पनि आफ्नो उत्कृष्ट गर्ने कप्तान किरणले बताए ।

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले आफ्नो टोलीको तयारी छोटो भए पनि तयारी रहेको उल्लेख गर्दै इङ्लिस फुटबलको तल्लो डिभिजनको टोली भएपनि बलियो हुने बताए । अधिकांश खेलाडी प्रिमियर लिग खेल्न लक्ष्यसहित त्यो टोलीमा रहेकाले खेलाडी पनि व्यावसायिक रूपमा उत्कृष्ट हुने प्रशिक्षक एनेसको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !